
काठमाडौं, २० चैत । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षाकर्मीहरू जनताले चिनेको पहिलो सरकार भएको बताएका छन् ।
सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्ने क्रममा गृहमन्त्री श्रेष्ठले सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएको र सरकारको प्रतिनिधिको रुपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा सुरक्षाकर्मीहरू जनताले पहिला अनुभूत गर्ने सरकार भएको बताएका हुन् ।
उनले सुरक्षाकर्मीहरू सरकारको पहिलो प्रतिनिधि भएकाले कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारप्रति नागरिकको भरोसा र विश्वास टुट्न नहुने बताएका छन् । कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकमास रकारप्रतिको धारणा निर्माण हुने उल्लेख गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भने, ‘तपाइँहरूले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधरणको भरोसा र विश्वास लुकेको छ । स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मेहनत गर्नुहुनेछ भन्ने आशा लिएको छु ।’
‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर प्रहरी सेवा प्रदान गर्न गरिएका प्रयास अत्यन्तै सराहनीय रहेको चर्चा गृहमन्त्री श्रेष्ठले गरेका छन् । मुलुकमा शान्ति–सुरक्षा स्थापना गर्न, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न, महिला बालबालिका, ज्येष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आमनागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन–कानूनले निर्दिष्ट गरेका जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन गृहमन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।
तस्करी र राजश्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै उनले यसको गुणात्मक वृद्धिका लागि दृढ भई कारवाही गर्न समेत उनले निर्देशन दिएका छन् ।
निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री श्रेष्ठ समक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र केसीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र क्षमता अभिवृद्धि, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौती, भावी योजना र अपेक्षालगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका प्रवक्ता, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।















प्रतिक्रिया