
पर्वत, १८ चैत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्याहरूको समाधान सबै मिलेर गर्नुपर्ने बताएका छन् ।
हिजो शुक्रबार जिल्ला सहकारी संघ लिमिटेड पर्वत र कुश्मा नगरपालिकाले कुश्मामा आयोजना गरेको सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुका लागि सहकारी शिक्षा तथा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रममा उनले सहकारीले आफ्नो मुल काम भन्दा बाहिर लागेका कारण समस्या आएको बताउँदै उत्पन्न भइसकेको समस्या सामाधानमा सबै जुट्नुपर्ने बताएका हुन् ।
‘सहकारीले काम गर्नुपर्ने सदस्यको मन जितेर हो, सदस्यको हितमा काम गर्नु पर्ने सहकारीहरु सञ्चालकको हितमा लागेका कारण समस्या देखिएको हो,’ उनले उनले भने, ‘सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकतावद्ध भएर लाग्नुको अब विकल्प छैन ।’
उनले अगाडि भने, ‘सहकारी समुदायको हो, सहकारीका सदस्य यसका मालिक हुन, तर व्यवहारमा सदस्यहरुलाई सहकारीहरुले केवल पैसा जम्मा गर्ने साधनका रुपमा मात्र लिने गरेका छन्, ग्रामीण क्षेत्रमा सहकारी राम्रा छन्, बजार क्षेत्रमा समस्या देखिएको छ, सबै मिलेर समस्या समाधान गरौँ ।’
यस्तै, पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले सहकारीलाई निरन्तर सञ्चालन गर्न, सदस्यहरुसँग बढी भन्दा बढी अन्तरक्रिया गर्न, सदस्यहरुलाई संस्थाको वास्तविक अवस्था अवगत गराउन आग्रह गरे । उनले सहकारी संस्थालाई सञ्चालन गर्दा सुरक्षाको समस्या भए सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जीसीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारी, सहकारी रजिष्टारको कार्यालय पोखराका सूर्य प्रसाद आचार्य, कुश्मा नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वर गिरी, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका संस्थापक अध्यक्ष गोविन्द पहाडी लगायत सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवालाहरुका बीच समन्वय र सहकार्यमा जोड दिएका छन् ।















प्रतिक्रिया