
काठमाडौं, १५ चैत । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा कुराकाओलाई ७–० फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
आज बुधबार बिहान भएको खेलमा कप्तान लियोनेल मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले फराकिलो जित हात पारेको हो ।
अर्जेन्टिनाको जितमा मेसीले खेलको २०औँ, ३३औँ र ३७औँ मिनेटमा ह्याट्रिक गोल गरे ।
यसैगरी, खेलमा अर्जेन्टिनाका लागि निकोलस गोन्जालेज २३औँ, इन्जो फर्नानडेजले ३५औँ, एन्जल डी मारिया ७८औँ र गोन्जालो मोन्टिएलले ८७औँ मिनेटमा एकएक गोल गरे ।
अर्जेन्टिनाको जितसँगै कप्तान मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो एक सय गोल पूरा गरेका छन् । कुराकाओविरुद्धको खेलमा ह्याट्रिक गोलसँगै मेसीको अन्तर्राष्ट्रिय गोल संख्या १ सय २ पुगेको छ । योसँगै अन्तर्राष्ट्रिय गोल संख्या एक सय कटाउने मेसी तेस्रो खेलाडी बनेका छन् ।
अन्तर्राष्ट्रिय खेलमा सबै भन्दा बढी गोल गर्ने रेकर्ड क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ । रोनाल्डोले हालसम्म १ सय २२ गोल गरेका छन् ।
अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी गोल गर्ने दोस्रो स्थानमा इरानका अली दाइ रहेका छन् । उनले १ सय ९ गोल गरेका छन् ।















प्रतिक्रिया