२८ आश्विन २०८३, बुधबार

राजधानीमा फेरि मिटरब्याजपीडितको चीत्कार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । ६ महिनाअघि असोज १ गते सरकार र मिटरब्याजपीडितबीच सम्झौता हुँदा बोदेबर्साइन नगरपालिका–१० सप्तरीका राजीवकुमार यादव अत्यन्त खुसी थिए । गाईपालन गरेर परिवार र सन्तानको भविष्य उज्ज्वल बनाउने आशा गरेर लिएको ऋणले उठिबास लगाउने स्थिति सिर्जना गरेपछि तनावमा रहेका यादवका लागि त्यो सम्झौताले आशाको सञ्चार गरेको थियो ।

‘साहुले सम्पत्ति हडप्न लागेको थियो । के गरौं, कसो गरौं भन्ने भइरहेको थियो । यहाँ आन्दोलन भइरहेको समाचारबाट थाहा भइरहेको थियो,’ उतिबेला सप्तरीमै रहेका यादव सम्झन्छन्, ‘सरकारले सबैसँग उजुरी लिने, सबैका मुद्दा हेर्ने, ऋण लिएको भन्दा बढी पैसा लिएको र सम्पत्ति हडपेको फिर्ता हुने भनेपछि खुसी भएँ ।’

त्यसपछि यादवले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिए। तर उनले सोचेजस्तै ६ महिनासम्म पनि उनको न गुमेको जग्गा फर्किएको छ, न उनले बढी तिरेको रकम पाएका छन् । ‘खै सरकारले सुन्छ कि भनेको ६–६ महिनासम्म सुन्दै सुनेन । अहिले आन्दोलन गर्न काठमाडौं जाने भन्ने सुनेपछि टोलीसँगै ११ दिन हिँडेर म पनि आएको छु,’ उनले दुःखेसो पोखे ।

यादवले ऋण लिँदा भने सुनौलो सपना देख्दै लिएका थिए । ‘मसँग पाँचवटा गाई थिए । दुध गाउँनजिकैको डेरीमा बिकिहाल्थ्यो । बढी गाई राखेर व्यापार बढाउने सोचले ऋण लिएको हुँ,’ उनले भने, ‘बैंकले हामीलाई कहाँ दिने ? सुदखोर साहु राजेश तेली साहसँग १३ लाख लिएको थिएँ ।’ उनले २०७३ माघ १८ गते उक्त ऋण लिएको बताए । ऋण लिँदा नै उनीसँग २२ कट्ठा जमिनको कागज बनाएर २६ लाख रुपैयाँको तमसुक बनाइएको थियो । जुन तीनवटा फरक–फरक रहेको उनी बताउँछन् । हालसम्म २४ लाख रुपैयाँ बुझाइसक्दा पनि जमिन फिर्ता नपाएको उनको गुनासो छ । ‘एक वर्षपछि अदालतमै मुद्दा हालेपछि सबै गाई बेचेर पैसा दिएँ । तैपनि जग्गा फिर्ता भएन । अहिले न जग्गा रह्यो, न गाई,’ उनले भने ।

यादवकै जस्तो कथा बोकेर न्यायको माग गर्दै काठमाडौं आइपुगेका हरेकजसो मिटरब्याजपीडितका व्यथा छन् । सबैला नगरपालिका–१२ धनुषाकी कल्पना धामी त ६ महिने दुधे बालक नै च्यापेर काठमाडौं आइपुगेकी छन् । धामी काठमाडौं आउनुको कारण आफूले लिएको ५० हजार ऋण मात्रै हो । जेठो छोरा बोल्न नसक्ने भएपछि उपचार गर्न त्यो रकम लिइएको उनले बताइन् । ‘त्यो रकम तिर्न लघुवित्तबाट ऋण झिकेर एक लाख दिइसकें,’ उनले भनिन्, ‘अझैं दुई लाख  तिर्नुपर्ने भनेको छ । गाली र कुटाइसम्म खाएकी छु ।’

न्यायको छाँट नपाएपछि फेरि आन्दोलित  

६ महिनाअघि आन्दोलन स्थगित गरेर घर फर्किए पनि सरकारबाट न्याय पाइने छाँट नदेखेपछि आन्दोलन गर्न आएको सप्तरी बोदेबर्साइनका तैयाब अली बताउँछन् । ‘हामीले सप्तरीमा महिनौं आन्दोलन गर्‍यौं । काठमाडौंमा दुई महिना आन्दोलन भयो । सरकारले न्याय दिन्छु भनेर भूलभुलैयामा राख्यो,’ उनले भने, ‘अहिले कुनै छाँटकाट नदेखिएपछि फेरि आन्दोलन गर्न आएका हौं ।’ मुस्लिम समुदायमा पवित्र रमजान चलिरहेको र रोजाको समयमा भइरहेको आन्दोलनलाई नै रोजा सम्झिने उनले बताए । ‘आन्दोलन गर्न आउनुपर्‍यो । रमजानमा रोजा बस्न पाइनँ, अब यही आन्दोलन मेरा लागि रोजा हो,’ उनले भने ।

यस पटक न्याय नपाएसम्म नफर्किने पीडितहरूको अडान छ । चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका पीडित चन्द्रनिगाहपुर, हेटौंडा, भीमफेदी, चन्द्रागिरि हुँदै आइतबार १२औं दिनमा काठमाडौं आइपुगेका थिए । आइतबार राति चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा बास बसेका पीडितले सोमबार त्यहाँबाट हिँडेरै टुँडिखेलस्थित खुलामञ्चमा पुगेर धर्ना दिए । आइतबारसम्म सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, झापा र खोटाङ गरी आठ जिल्लाका ४२ जना महिलासहित ७२ जना पीडित काठमाडौं आइपुगेका थिए । सोमबार अन्य जिल्लाका पनि थपिएको विरोध कार्यक्रमको नेतृत्व गरिरहेका सिरहाका मनोज पासवानले बताए ।

मिटरब्याजपीडितले तमसुक खारेजी, सुदखोरले हडपेको र बढी असुल गरेर लिएको सम्पत्ति फिर्ता र सुदखोरमाथि कारबाही गरी उनीहरूको अवैध सम्पत्ति छानबिन गर्नुपर्ने माग उठाएका छन् । ‘हामी यस पटक न्याय नपाएसम्म जान्नौं । सरकारले हाम्रा कुरा नसुनेसम्म लगातार आन्दोलन गर्छौं,’ पासवानले भने, ‘खुला मञ्च र माइतीघरमा आन्दोलन र धर्ना दिने हाम्रो कार्यक्रम छ ।’ सोमबार साँझ पीडितले खुलामञ्चमै बस्न चाहेका थिए । तर प्रहरीले शान्तिवाटिकामा बस्न आग्रह गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।