१ कार्तिक २०८३, शनिबार

थ्री नेसन्स कप आजबाट, उद्घाटन खेलमा नेपाल र लाओस भिड्दै

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आज बुधबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र लाओस खेल्ने छन् ।

नेपालले २०१६ पछि पहिलो पटक लाओससँग खेल्दै छ । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जितेको थियो ।

आज हुने नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाका अनुसार नेपाल, लाओस र भुटान सहभागी प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताका लागि लाओस र भुटानका दुबै टोली नेपाल आइसकेका छन् ।

यसगरी प्रतियोगिता अन्तर्गत चैत ११ गते भुटान र लाओस भिड्ने छन् भने चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छ । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ हजार डलर प्राप्त गर्ने एन्फाले जनाएको छ ।

यसैबीच, प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले २३ सदस्यीय टिम घोषणा गरेका छन् । उनले राष्ट्रिय टिमका किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिम घोषणा गरेका हुन् ।

मंगलबार एनीसले घोषणा गरेको टोलीमा ७ जना नयाँ खेलाडी छन् । अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणि लामा, सुमित श्रेष्ठ, नविन लामा र दीपकराज सिंह ठकुरीलाई पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

यस्तो छ नेपाली टिमः
गोलरक्षकः किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, आदित्य चौधरी, विकास खवास, सनिश श्रेष्ठ, निशान खड्का, पदम भट्टराई
मिडफिल्डरः आशिष चौधरी, मणि लामा, आयुष घलान, नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट, कमल थापा, सुमित श्रेष्ठ
फरवार्डः नवयुग श्रेष्ठ, मनिष डाँगी, दीपकराज सिंह ठकुरी, भरत खवास, अन्जन विष्ट