
काठमाडौं, ५ चैत । आज आइतबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले आफ्नो धारणा राखिरहेका थिए ।
त्यसैबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा आइपुगे र बोलिरहेका सांसद सुवाललाई क्रस गरेर अगाडिबाटै हिँडे । आफूले गरेको विरोधको सूचनामाथि बोलिरहेका सांसद सुवालको अगाडिबाटै बैठकमा ढिलो उपस्थित भएका प्रचण्ड हिँडेपछि उनी एकाएक आक्रामक बने र प्रधानमन्त्रीको त्यो हिँडाइप्रति आपत्ति प्रकट गरे ।
प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले प्रतिनिधिसभामा प्रस्तुत गर्न लागेको संवैधानिक परिषदको काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसद सुवालले विरोधको सूचना दर्ता गरेका थिए । सो सूचनामाथि मन्त्री शर्माले प्रष्ट पारेपछि विरोधको सूचना फिर्ता लिने वा कायम राख्ने सुनिश्चितताका लागि सभामुख देवरा घिमिरेले सांसद सुवाललाई समय दिएका थिए ।
सांसद सुवाल आफूले जुन बिषयमा बोल्न समय पाएका थिए त्यसमा नबोली केही महिनाअघि सप्तरी शोषिता दासलाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको र उनले न्याय नपाएको बताउन थाले ।
सभामुख घिमिरेले उनलाई आफूले समय दिएको विषयमा बोल्न ध्यानाकर्षण गराएपछि सुवालले आफूले अघिल्ला बैठकमा पनि त्यसबारे कुरा उठाउँदा कुनै मन्त्रीबाट जवाफ नआएको भन्दै सभामुखलाई संसदको सदस्य जनताको प्रतिनिधि भएकाले जनताको कुरा उठाउन पाउने बताइरहेका थिए ।
सोही बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड आफ्ना सीटतर्फ गएपछि सांसद सुवालले आक्रोश व्यक्त गर्दै भने, ‘संसद सदस्य भनेको जनताको प्रतिनिधि हो । जनताको प्रतिनिधिले बोलेको विषय सरकारले सुनुवाई गर्दैन भने यो संसदबाट प्रधानमन्त्री छनोट गर्नुको औचित्य हुँदैन । त्यसकारण संसदबाट निर्वाचित प्रधानमन्त्री हो भने संसद सदस्यले उठाएको विषयको जवाफ आउनुपर्छ । जनता मरिरहेका छन्, किसानले मल पाइरहेका छैनन् । किन नपाउने किसानले मल ? किसानले मल नपाएपछि हामी सांसदले पनि खान पाउँदैनौँ नि चामल ।’
उनले यी धारणा व्यक्त गरिरहेकै बेला प्रधानमन्त्री प्रचण्ड बैठकमा आइपुगेका थिए र उनी सांसद सुवालको अगाडिबाट आशनतर्फ गए । तत्कालै सांसद सुवालले उक्त विषय आपत्तिजनक भएको भन्दै विरोध जनाए । ‘प्रधानमन्त्रीज्यूले यसरी बोलिरहँदा अगाडिबाट क्रस गर्न पाइँदैन सभामुख महोदय । यो के हो ? यो संसद हो कि क्लब हो ? क्लब हो भने क्बलको सामानहरू आउनुपर्यो यहाँ । गीत गाउनेहरू आउनुपर्यो । अनि नाच्ने गाउनेहरू आउनुपर्यो । होइन भने संसदको नियम त पालना हुनुपर्यो नि ।’
सभामुखले विषयवस्तुमा प्रवेश गर्न पुन: आग्रह गरेपछि सुवालले आफूले विषय केन्द्रित रहेको भन्दै सिरहाको लहानमा एक व्यक्तिको हत्या भएको र गृहमन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीले जवाफ दिनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरे । उनले आफूले दर्ता गरेको विरोधको सूचना फिर्ता नलिने समेत बताउँदै सांसदले उठाएको प्रश्न सरकारले दिँदैन भने त्यस्तो सरकारलाई राजीनामा गराउनुपर्ने धारणा अघि सारे ।















प्रतिक्रिया