शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेपाल एकीकरणजस्तै आर्थिक समृद्धिको अभियान पनि गोरखाबाटै सुरू गरौँ: वरिष्ठ उपाध्यक्ष ढकाल

दैनिक नेपाल २०७९ चैत ५ गते ९:४०

गोरखा, ५ चैत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनु पर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको आर्थिक सम्मद्धि र विकासमा रणनैतिक भूमिका रहेका दुई ठुला आयोजनाहरु गोरखकाली रबर उद्योग पुनः संचालन र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्नुपर्ने बताएका हुन् ।

‘नेपाल सरकारबाट सहजीकरण र सहयोग भएमा गोरखकाली रबर उद्योग सञ्चालन गर्न मैले पनि पहल गर्नेछु । यसलाई तुरुन्त अगाडि बढाउन सकिन्छ,’ उनले भने, ‘यसका साथै बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्न आग्रह गर्न चाहन्छु।’ उनले मनकामना आउने पर्यटकलाई गोरखा दरबार र यहाँका अन्य पर्यटकीयस्थलहरुसम्म ल्याउन पहल गर्नुपर्ने र यहाँका सुन्तला लगायत स्थानीय उत्पादनको बजारीकरण गर्न आवश्यक रहेको बताए ।

कोरोना भाइरस महामारीपछि आन्तरिक पर्यटनले अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग गरेको बताउँदै उनले गोरखामा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको र आफूले यहाँको पुर्वाधार विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘नेपाल एकीकरण गोरखाबाट सुरू भएर सफल भयो अब आर्थिक रूपमा पनि गोरखालाई महत्त्वपूर्ण जिल्लाको रूपमा विकास गर्नुपर्छ ।’  उनले भने ।

‘अहिले मुलुकको प्रधानमन्त्री यही जिल्लाकै हुनुहुन्छ । महत्वपूर्ण र धेरै विकास बजेट भएको मन्त्रालयमा पनि यही जिल्लाकै उपप्रधानमन्त्री तथा भौतिक विकास मन्त्री हुनुहुन्छ । तपाई हामी सबै पहल गरौँ । नेपाल एकीकरणको सुरु गोरखा जिल्लाबाट भएजस्तै अब मुलुकको आर्थिक समृद्धि र विकासको अभियान पनि यहीबाट सुरु गरौँ,’ उनले भने ।

कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा विभिन्न समस्याहरु देखिएको बताउँदै उनले व्यवसायीहरुलाई संयमित भएर व्यवसाय गर्न आग्रह गरे । ‘कोरोना माहामारीसँगै मुलुकको अर्थतन्त्रमा धेरै समस्याहरू देखिएका थिए । हामी महासंघको नेतृत्व बैंकको ब्याजदर लगायत व्यवसायीहरुका समस्याको समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा विभिन्न पक्षसँग वार्ता र छलफल गरिरहेका छौँ । त्यसकै फलस्वरुप आंशिक रुपमा भएपनि व्यवसायीहरुका मागहरु सम्बोधन भएका छन् । हामी महासंघका तर्फबाट व्यवसायीका सबै माग सम्बोधन नभएसम्म निरन्तर पैरवी गरिरहनेछौं,’ वरिष्ठ उपाध्यक्ष ढकालले भने ।

उनले ब्याजकै विषयलाई लिएर बैकका कर्मचारीमाथि कुटपिट गर्ने जस्ता गलत क्रियाकलापहरु सुरु भएको र यो काम अत्यन्त निन्दनीय रहेको बताए । उनले बैंकको ब्याजदर अर्थतन्त्रका धेरै पक्षहरुले निर्धारण गर्ने हुँदा कुनै एक बैंकको व्यवस्थापकलाई कुटपिट गर्दैमा यो समस्याको समाधान नहुने पनि बताए । उनले महासंघको आगामी ५७औँ अधिवेशनमा विभिन्न पदमा प्रत्यासी साथीहरुलाई सस्तो लोकप्रियताका लागि गैरजिम्मेवार र हुनै नसक्ने कुरा नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित