शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मधेशवादी यी पाँच दलले बनाए ‘लोकतान्त्रिक मधेशी मोर्चा’

दैनिक नेपाल २०७९ चैत ४ गते २३:०४

काठमाडौं, ४ चैत । तराई–मधेशलाई केन्द्रित गरेर राजनीतिक गतिविधि गर्दै आएका पाँच वटा राजनीतिक दलले संयुक्त मोर्चा ‘लोकतान्त्रिक मधेशी मोर्चा’ बनाएर अघि बढ्ने निर्णय गरेका छन् ।

आज शनिबार तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले मोर्चा बनाउने निर्णय गरेका हुन् ।

निर्णय अनुसार तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय सद्भावना पार्टी ‘लोकतान्त्रिक मधेशी मोर्चा’को रुपमा एकजूट हुने भएका छन् ।

बैठकमा तमलोपाको अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाल सद्भावना पार्टीको अध्यक्ष रामकुमार महतो, नेपाल लोकतान्त्रिक पार्टीको सह–अध्यक्ष सुरेशकुमार गुप्ता, ऐतिहासिक जनता पार्टीको अध्यक्ष बद्रीनारायण ठाकुर र राष्ट्रीय सद्भावना पार्टीको महासचिव रविन्द्र प्रसाद सिंह लगायत बिभा ठाकुर, सतीश लाल दास, रविशंकर लाल (सुभाष कर्ण), उमेशकुमार मण्डल, नागेन्द्र सिंह, सरोजकुमार मिश्रलगायत नेताहरु उपस्थित थिए ।

आजको बैठकमा तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंहले कार्यदलले तयार गरेको ‘लोकतान्त्रिक मधेशी मोर्चा’को साझा अवधारणा–पत्र प्रस्तुत गरेका थिए । बैठकले ‘लोकतान्त्रिक मधेशी मोर्चा’को साझा अवधारणा–पत्र २०७९ चैत्र १३ गते जनकपुरधाममा सार्वजनिक गर्ने निर्णय गरेको छ ।

नेपाल लोकतान्त्रिक पार्टीले पार्टीभित्र छलफल गरी अन्तिम निर्णय लिन बाँकी रहे पनि साझा अवधारणामा राखिएका विषयसँग आफूहरु सहमत रहेको बताएको छ । तमलोपाको केन्द्रीय सदस्य उमेशकुमार मणडलले यी पाँच दल एकै स्थानमा आउनु मधेश मुद्दाको निमित्त सुखद खबर भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित