३० आश्विन २०८३, शुक्रबार

संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त : राष्ट्रपति पौडेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्नो मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक सनिबार संघीय सांसद र प्रदेशसभा सदस्यलाई धन्यवाद दिन आयोजित समारोहमा उनले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका हुन् ।

‘राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने छु,’ राष्ट्रपति पौडेलले भने ।

आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको बताउँदै उनले आफू संविधान निर्माण प्रक्रियामा सहभागी रहेर काम गरेकैले पनि संविधानको पालना र संरक्षण आफ्नो मुख्य धर्म हुने उल्लेख गरेका छन् । ‘संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेका कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहान्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुराप्रति सदैव सजग रहने प्रण गर्दछु ।’

मुलुकमा अहिले पनि थुप्रै चुनौती रहेको भन्दै उनले स्वास्थ्य, जलवायु जस्ता समस्या समाधानका साथै राजनीतिक उपलब्धिको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता औँल्याए । प्राप्त राजनीतिक उपलब्धिको सदुपयोग गर्दै तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्तत: प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ सबै गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ ।

चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरूलगायत मन्त्री, सांसद र विभिन्न व्यक्तिहरु सहभागि थिए ।