
काठमाडौं, ४ चैत । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकको अर्थतन्त्र सुधारका लागि व्याजदर सुधार आवश्यक रहेको बताएका छन् ।
आज शनिबार ललिपुरमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ५७औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली अर्थतन्त्र व्याजदरकै कारण खलबलिएकाले व्याजदरमा सुधार गर्नुपर्ने बताएका हुन् ।
बढ्दो व्याजदरले पुँजीको लागत बढाउने र समग्र अर्थतन्त्र खलबलिने भन्दै उनले अर्थतन्त्रलाई गतिशील बनाउन आवश्यक रहेको बताएका छन् । ‘नेपालको अर्थतन्त्र व्याजदरका कारणले समस्यामा परेका छ, हामी सबै जानकार छौँ,’ उनले भने, ‘व्याजदरले पुँजीको लागत बढाउने र समग्र अर्थतन्त्र खलबलाउने भएकाले अर्थतन्त्रलाई गतिशील बनाउनुपर्छ त्यसका लागि सबैले सहयोग गर्नुहुन्छ भन्ने आशा छ ।’
सभामुख घिमिरेले मुलुकभित्र उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने र नेपालमा हुने आयातलाई प्रतिस्थापन गरी निर्यातलाई वृद्धि गर्न कानुनको अभाव भएमा व्यवसायीमैत्री कानुन बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।















प्रतिक्रिया