बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

विश्वकप छनोटको यात्रा तय गर्न सफल नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने

दैनिक नेपाल २०७९ चैत ३ गते १७:३५

काठमाडौं, ३ चैत । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गरेको नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग खेल्न पाउने पक्का भएको छ ।

विभिन्न सात राष्ट्र सम्मिलित विश्वकप क्रिकेट लिग दुईबाट स्कटल्यान्ड पहिलो, ओमन दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म हुने विश्वकप छनोटमा प्रवेश पाएका छन् । यससँगै नेपालले टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग खेल्न पाउने भएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुईको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई) लाई पराजित गर्दै विश्वकपको छनोटमा प्रवेश पाएको हो । खराब प्रकाशका कारण खेल रोकिँदा नेपाल डकवर्थ लुइस नियमअनुसार ९ रनले विजयी भएको थियो ।

त्यस्तै, लिग दुईको अङ्कतालिकामा चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थान हासिल गरेका क्रमश: नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनीले विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्नेछ । प्लेअफमा यी चार टोलीसहित च्यालेन्ज लिगको शीर्ष दुई टोली क्यानडा र जर्सी गरी ६ राष्ट्रको प्लेअफ छनोट हुनेछ । उक्त खेल नामिबियामा यसै महिनामा हुनेछ । जसबाट शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोटमा सहभागिता जनाउन पाउनेछन् ।

जिम्बावेमा विभिन्न १० टोली प्रतिस्पर्धामा उत्रनेछन् । विश्वकप लिग दुईबाट नेपाल ओमान र स्कटल्यान्डले स्थान बनाए भने सुपर लिगबाट जिम्बावे र नेदरल्यान्ड्सले खेल्ने पक्का भइसकेको छ । अन्य टोलीको छनोट हुन भने बाँकी छ । जिम्बावेमा हुने विश्वकप छनोटमा आइसिीसी सुपर लिगका पुछारका पाँच टोली, लिग दुईको शीर्ष तीन टोली र प्लेअफ छनोटबाट आउने शीर्ष दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित