३० आश्विन २०८३, शुक्रबार

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित, दुबै जना महिला उम्मेदवार पराजित

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । चौथो कार्यकालका लागि मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।

यस्तै, एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गरिन् भने जनमत पार्टीकी ममता झाले २ हजार ५३७ मतभार प्राप्त गरिन् । अष्टलक्ष्मी शाक्यले  १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदको मत पाएकी हुन्भ ने जनमत पार्टीकी उम्मेदवार ममता झाले १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदको मत पाइन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज शुक्रबार भएको मतदानमा ३११ संघीय सांसद र ५१८ जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए ।

मतदान सम्पन्न भएसँगै गरिएको मतगणना र त्यसको परिणाम अनुसार उपराष्ट्रपतिमा यादव निर्वाचित भएका हुन् ।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार रहेकामा जसपाका यादवले बाजी मारेका हुन् ।

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम रहेको छ ।

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ ।