३० कार्तिक २०८३, सोमबार

आफ्नै नेतृत्वमा सरकार बनाउने कि सत्ता गठबन्धनमा सहभागी हुने बारे छलफल गर्दै कांग्रेस

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठक केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बिहान ११ बजे बस्दै छ । बैठकमा सत्ता गठबन्धन छोडेको नेकपा (एमाले)सँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कि अल्पमत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने बारे छलफल हुने एक कांग्रेस नेताले जानकारी दिए ।

१० पुसमा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड अहिले अल्पमतमा रहेका छन् । सत्ता गठबन्धनमा रहेका प्रमुख दुई दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा रहेका हुन् । प्रचण्डले तत्तकालिन गठबन्धन बन्दै गर्दा गरेको सहमति तोडेपछि एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिएका हुन् ।

सरकार गठनको भागबन्डामा प्रधानमन्त्री प्रचण्डलाई बनाउने र राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । सहमति अनुसार प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा एमालेलाई समर्थन नगरी प्रतिपक्षी दल कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेसँगै एमालेले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले यहि चैत ८ गते विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको धारा १०० को उपधारा २ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अन्तर्गत उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।

राष्ट्रपति निर्वाचनमा सहयोग गरेका प्रचण्डलाई विश्वासको मत दिने कि आफ्नै नेतृत्वमा एमालेसँग मिलेर सरकार बनाउने विषयमा कांग्रेसले तयारी थालेको हो । एमाले र कांग्रेस मिलेर देशलाई राजनीतिक स्थायीत्व दिनुपर्ने बहस चलिरहेको बेला कांग्रेसले बैठक बोलाएको हो ।

कांग्रेसको आजको बैठकमा उपराष्ट्रपति निर्वाचन तथा चितवन-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनको विषयमा समेत छलफल हुने बताइएको छ । गएको २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ-१ मा उपनिर्वाचन हुने भएको हो ।

चितवन-२ मा भने बैशाख १० गते उपनिर्वाचन हुने तय भइसकेको छ । चितवन-२ मा ४ मंसिरमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने निर्वाचत भएका थिए । नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि चितवनमा उपनिर्वाचन हुन लागेको हो ।