
काठमाडौं, २८ फागुन । निर्वाचनका आयोगले आज उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।
उमेदवारविरुद्ध परेको उजुरीउपर आज जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ ।
आजै उम्मेदवारको नाम फिर्ता लिने समय दिउँसो १ बजेदेखि ४ बजेसम्म रहेको समेत आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने अपरान्ह ४ बजेदेखि ५ बजे भित्र गर्ने कार्यतालिका रहेको छ ।
एक उपराष्ट्रपति पदका लागि १० दलीय गठबन्धनबाट तीनको उम्मेदवारी परेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट एकल उम्मेदवारी परेको छ ।
गठबन्धनबाट जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहाय प्रसाद यादव र प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी एमालेबाट पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् ।
उपराष्ट्रपति चयनका लागि आउँदो चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । उपराष्ट्रपति चयनका लागि प्रतिनिधि सभा, राष्ट्रियसभा र प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् ।












प्रतिक्रिया