
काठमाडौं, २७ फागुन । उपराष्ट्रपति चयनका लागि आज शनिबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।
निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनपत्र दर्ताको समय रहेको आयोगको कार्यतालिका रहेको छ ।
यसैगरी, आजै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने समय रहेको छ । निर्वाचन कार्यतालिका अनुसार आजै दिउँसो २ बजेदेखि ३ बजे भित्र उम्मेदवारको सूची प्रकाशन गर्ने र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।
मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ ।

यसैबीच उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीले ५३ वर्षीया ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमतको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले बारा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले ५२ वर्षीय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यता नौ दलीय गठबन्धनले उपराष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । शुक्रबार अपरान्ह बसेको गठबन्धनको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नसकेको हो । गठबन्धनको बैठक आज बिहान बस्ने तयारी रहेको छ ।
यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आज बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ । एमालेले उपराष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउन बैठक बोलाएको हो ।
उपराष्ट्रपति चयनका लागि आउँदो चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । उपराष्ट्रपति चयनका लागि प्रतिनिधि सभा, राष्ट्रियसभा र प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् ।
यसअघि, २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनलाई सत्ता गठबन्धनसहितको नौ दलीय गठबन्धनको साथ रहेको थियो ।












प्रतिक्रिया