शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ फागुन २६ गते २१:५३

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्द सर्वोच्च अदालतमा परको मुद्दाको सुनुवाई शुक्रबार भएको छ ।

न्यायाधीस ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाईमा मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरिएको छ ।

इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने प्रचण्डलाई आदेश दिएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

१. आएन अन्तरिम आदेश : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्वको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार, मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने प्रचण्डको नाममा आदेश जारी ।

२. अब प्रयोग होइन, परिणाम : देशले पटक पटकको प्रयोग धान्न नसक्ने नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको भनाइ, जनतामा देखिएको निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्नेमा जोड ।

३. प्रधानमन्त्री र बेलायती विदेशमन्त्रीबीच भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बेलायतकी विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनबीच भेटवार्ता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल ।

४. नेम्वाङले बुझाए निर्वाचन खर्च : राष्ट्रपतिमा पराजित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बुझाए राष्ट्रपति निर्वाचन खर्च, १६ हजार पाँचसय खर्च गरेको जानकारी ।

५. एमालेले डाक्यो सचिवालय बैठक : नेकपा एमालेले बोलायो सचिवालय बैठक, शनिबार बिहान ९ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने र राष्ट्रपति चुनावको समेत समीक्षा हुने ।

६. प्रचण्डविरुद्द मुद्दा परेपछि… : शुक्रबार बिहान माओवादी धारका नेताहरुको संयुक्त बैठक बालुवाटारमा बस्यो, फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय ।

७. आफ्नै उमेर बाधक : उपराष्ट्रपतिको लागि दाबी गरेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई आफ्नै उमेर बाधक, ३९ वर्ष पुगेकी श्रेष्ठ कानूनी प्रावधानअनुसार उपराष्ट्रपतिका लागि ४५ वर्ष पुग्नुपर्ने ।

८. श्रीलाई उडानमा रोक : नागरिक उड्डयन प्राधिकरणले रोक्यो श्री एयरलाइन्सका सम्पूर्ण उडान, बिहीबार भैरहवाको लागि उडेको श्रीको जहाजको इन्जिनमा आगो लागेपछि सम्पूर्णको परीक्षणपछि मात्रै उड्न दिइने ।

९. को बन्ला एआइजी ? : नेपाल प्रहरीका पाँचजना नायव महानिरीक्षक (डीआइजी) अतिरीक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस, सिफारिसमा पर्नेहरुमा पहिलो नम्बरमा वसन्तबहादुर कुँवर दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाचौँ नम्बरमा किरण बज्राचार्य ।

१०. अपहेलना मुद्दा दर्ता : लोकसेवा आयोगका तत्कालीन अध्यक्ष माधवप्रसाद रेग्मी, कर्मचारी सञ्चय कोषका तत्कालीन राजश्व सचिव डा. रामप्रसाद घिमिरे र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव लक्ष्मीप्रसाद निरौलासहित १० जनाविरुद्ध अदालतमा अपहेलना मुद्दा दर्ता, अदालतको अपहेलनामा झिकाइ सजाय गरी फैसला गरी पाऊँ भन्दै अधिवक्ता दीपकराज जोशीद्वारा मुद्दा दर्ता ।

११. आयोगद्वारा प्रतिवेदन पेश : निर्वाचन आयोगद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन पेश, नेपालको संविधानको धारा तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा ६० बमोजित पौडेल राष्ट्रपतिमा निर्वाचित भएको जानकारी ।

१२. पर्यटक बढ्ने आश : चीनले आफ्ना नागरिकको लागि खुल्ला गरेको दोस्रो चरणको गन्तब्य सूचीमा नेपाललाई पनि समावेश गर्यो, नेपालमा चिनियाँ पर्यटकको आवागमन बढ्ने अपेक्षा ।

१३. बढ्यो सुनको मूल्य : साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा बढ्यो सुनको मूल्य, सुनको मूल्य तोलामा आठ सयले बढेर छापावाल सुन प्रतितोला एक लाख एक हजार आठ तेजाबी सुन प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँमा कारोबार, चाँदीको मूल्य भने पाँच रूपैयाँले घटेर प्रतितोला १२ सय २० रूपैयाँमा कारोबार ।

१४. शक्तिशाली राष्ट्रपति : तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा सी जिनपिङ चयन, सी ले सोमबार संसद्को वार्षिक अधिवेशनमा सम्बोधन गर्ने ।

१५. थ्री स्टार विजयी : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब विजयी, एफसी खुमलटार २–० गोल अन्तरले पराजित ।

प्रतिक्रिया
सम्बन्धित