शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: रामचन्द्र पौडेल बने नेपालको चौथो राष्ट्रपति

दैनिक नेपाल २०७९ फागुन २५ गते २२:५५

काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

आज बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए ।

कुल ८८४ जना मतदातामध्ये ८३१ मत खसेको थियो । मतदानमा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–

१. राष्ट्रपति बने रामचन्द्र पौडेल : नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका रामचन्द्र पौडेल निर्वाचित, नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ पराजित ।

२. अब जनताको सेवा गर्छु : उपराष्ट्रपतिको निर्वाचनपछि सरकारले पूर्णता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, राष्ट्रपतिको निर्वाचनपछि एउटा राजनीतिक कोर्ष सकिएकाले अब जनताको सेवा गर्न केन्द्रीत हुने धारणा व्यक्त ।

३. पेशी सर्‍यो : बिहीबारका लागि तोकिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्दको पेशी सर्‍यो, भोलि शुक्रबारका लागि अर्को पेशी ।

४. यादव उपराष्ट्रपतिका उम्मेदवार : रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनता समाजवादी पार्टीको निर्णय, आठ दलको सहमतिअनुरूप राष्ट्रपतिमा काँग्रेसका रामचन्द्र पौडेललाई सहयोग गरेकाले गठबन्धनले यादवलाई सहयोग गर्नुपर्ने धारणा ।

५. राष्ट्रपतिलाई बदनाम गर्न खोजियो : स्वार्थ प्रेरित व्यक्तिले राष्ट्रपति जस्तो मर्यादित संस्थालाई बदनाम गर्न खोजेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, नयाँ राष्ट्रपतिले देशको हित, लोकतन्त्रको रक्षा र संविधानको रक्षकको रुपमा काम गर्नुपर्ने भनाइ ।

६. उपनिर्वाचनको चटारो : चितवन २ मा उपनिर्वाचनका लागि १८ दल दर्ता, बैशाख १० गते उपनिर्वाचन हुँदै ।

७. प्रधानमन्त्रीविरूद्द नै मुद्दा परेपछि… : शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई वटा महत्वपूर्ण विधेयक संघीय संसदमा दर्ता गर्ने सरकारको तयारी, शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र सक्ने गरी सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोगसम्बन्धी विधेयकलाई अघि बढाउने सञ्चारमन्त्री रेखा शर्माको भनाइ ।

८. सांसद लडेपछि… : राष्ट्रपतिमा मतदान गरेर फर्कदैँ गर्दा संसद भवनको सिँढीमा लडेर मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइते, सिभिल अस्पतालमा उपचार हुँदै ।

९. जोगियो ठूलो दुर्घटनाबाट : काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहानको इन्जिनमा आगो लागेपछि काठमाडौं नै फर्काएर आकस्मिक अवतरण, जहाजमा सवार सबै सकुशल ।

१०. भ्रष्टाचारी सांसदलाई जरिवाना मात्रै : भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई एक करोड २१ लाख ८४ हजार रूपैयाँ जरिवाना मात्रै, जेल सजाय सुनाइएन ।

११. ठेकेदारलाई चेतावनी : निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा ठेकेदारबाट असुलउपर गर्ने नेपाल विद्युत प्राधिकरणको चेतावनी, आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारलाई समयसीमा

१२. कहिले रोकिन्छ बलात्कार ? : दाङको शान्तिनगर गाउँपालिका–७ स्थित माध्यामिक विद्यालय धनौरी क्षेत्रमा सात वर्षीया बालिका बलात्कृत, बलात्कार आरोपमा शान्तिनगर गाउँपालिका–७ बस्ने १७ वर्षीय किशोरलाई पक्राउ ।

१३. बुस्टर डोज लगाऔँ : कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह, कोभिड–१९ विरुद्धको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएका र पहिले बुस्टर मात्रा खोप लगाउन छुटेकाले लगाउन सक्ने ।

१४. उत्तर कोरिया र अमेरिकालाई चेतावनी : उत्तर कोरियाले गर्‍यो छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गर्नुभन्दा केही दिनअघि चेतावनी स्वरूप क्षेप्यात्र परिक्षण गरेको आँकलन ।

१५. नेपालको सानदार जित : आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा पपुवा न्यूगिनी पीएनजीमाथि नेपालको सानदार जित, पीएनजी ५२ रनको फराकिलो अन्तरले पराजित ।

प्रतिक्रिया
सम्बन्धित