बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS : माओवादीबाट अदालतमा हस्तक्षेप, शान्ति प्रक्रियामा प्रचण्ड बाधक

दैनिक नेपाल २०७९ फागुन २२ गते २२:५०

काठमाडौं, २२ फागुन । आज फागु पूर्णिमा अर्थात् होली पर्व । देश रङमय भए पनि उत्तिकै चर्चा, चासो र चिन्ताको विषय बन्यो राजनीतिक रङ ।

खासगरी राष्ट्रपति निर्वाचनले यतिखेर मुलुकको ध्यान खिचेको छ । निर्वाचनको परिणामले आगामी सरकार, सत्तासमीकरण र देशको भविष्य समेत निर्धारण हुने भएकाले होलीका बीचमा पनि मानिसहरूको चासो राष्ट्रपति निर्वाचनमा देखियो ।

त्यसो त यही फागुन २५ गते अर्थात् आगामी बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आज राति १२ बजेपछि मौन अवधि सुरू गर्दैछ । प्रभावस्वरुप उम्मेदवार र सम्बन्धित दलहरूको क्रियाशीलता आज निक्कै बढेको देखिन्थयो ।

अर्कोतर्फ सत्ता नेतृत्व र समीकरणसँगै जोडिएर आएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरिएको रिट निवेदनले अर्को चर्चा पाइरहेको छ । यसैबीच शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न पनि प्रचण्ड नै नमानेको तथ्य र तर्कहरू सार्वजनिक भएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

१. मौन अवधि सुरू : आज राति १२ बजेदेखि राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार गर्न नपाइने, आज मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगद्वारा जानकारी ।

२. माओवादीबाट अदालतमा हस्तक्षेप : नेकपा माओवादी केन्द्रले अदालतमाथि हस्तक्षेप गरेको उच्च अदालत बार एशोसिएसन पाटनको भनाइ, सर्वोच्च अदालतको आदेशविरुद्ध माओवादीका महासचिव देव गुरुङले जारी गरेको विज्ञप्ति भत्र्सनायोग्य भएको जिकिर ।

३. शान्ति प्रक्रियामा प्रचण्ड बाधक : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न बाहाना बनाएर शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नमानेको एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलासा, प्रचण्ड र शेरबहादुर देउवालाई पटक–पटक आग्रह गर्दा पनि वास्ता नगरेको दाबी ।

४. सांसदहरूलाई प्रशिक्षण : राष्ट्रपति निर्वाचनलाई लक्षित गरी नेकपा (एमाले)लेले दियो आफ्ना सांसदहरूलाई प्रशिक्षण, पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रशिक्षणमा प्रतिनिधिसभा, राष्ट्रियसभा र सात वटै प्रदेशका प्रदेश सभा सांसदहरूको सहभागिता ।

५. सुवासचन्द्रद्वारा शेरबहादुरसँग महत्वपूर्ण भेट : राष्ट्रपति निर्वाचनको सम्मुखमा उम्मेदवार सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता, नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत माग्नाका साथै देउवासँग विभिन्न राजनीतिक विषयमा छलफल गरेको स्रोतको भनाइ ।

६. कारबाही सिफारिस : आम चुनावमा पार्टीभित्र रही अन्तर्घात गरेको भन्दै जसपाले गर्‍यो ८० जना नेतालाई कारबाहीको सिफारिस, पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापा नेतृत्वको कार्यदलबाट तयार पारिरएको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण ।

७. सहकारीमा सञ्चालक नै समस्या : सहकारीकै सञ्चालकहरूले लिएको ऋण उठाउन कठिन भएकाले केही सहकारीमा समस्या आएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को भनाइ, सहकारीहरूमामा देखिएको समस्या समाधान गर्नेगरी यही फागुन २४ र २५ गते काठमाडौंमा व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी आयोजना गर्ने जानकारी ।

८. शीर निहुरिने काम गर्दिन : आफू राष्ट्रपतिमा निर्वाचित भए संविधानको रक्षालाई प्रमुख प्राथमिकता दिने एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङको भनाइ, कसैको पनि शीर निहुरिनेगरी काम नगर्ने प्रतिबद्धता व्यक्त ।

९. राजकुमारी आश्मा म्याग्दीमा : कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी पुगिन्, आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जाद्वारा अल्थानीको आरोहण टोलीको नेतृत्व ।

१०. उपाध्यायको अन्त्येष्टि : शङ्खमूलस्थित एक रेष्टुरेन्टको छतबाट खसेर निधन भएका नेकपा एसका केन्द्रीय सदस्य सरोज उपाध्यायको पशुपति आर्यघाटमा अन्त्येष्टि, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त ।

११. कालोपत्रको काम रोकियो : सडकको कालोपत्र गुणस्तरीय नभएको भन्दै स्थानीयले रोके तम्घासबाट रेसुङ्गा जाने सडक कालोपत्रको काम, सम्झौता अनुसार काम नगरेकाले रोक लगाइएको स्थानीयको भनाइ ।

१२. बालिका बलात्कृत : पर्वतमा १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा गोरखाको अजिरकोट गाउँपालिका–५ का दीपेन्द्र विक पक्राउ, बालिकालाई खाली घरमा लगेर जबरजस्ती करणी गरेको प्रहरीको भनाइ ।

१३. बन्नेभयो केबुलकार : गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबुलकार निर्माणको योजना अघि बढाइयो, बागलुङ पर्यटन विकास समिति तथा पर्यटन अभियान्ताको पहलमा सम्भाव्यता अध्ययन सुरू ।

१४. नेपालको महत्वपूर्ण र सानदार जित : आईसीसी विश्वकप लिग–टू क्रिकेटको जारी त्रिकोणत्मक श्रृङ्खलामा नेपालद्वारा घरेलु टोली यूएई ४२ रनले पराजित, जितसँगै युएईलाई पछि पार्दै नेपाल ३२ अंकका साथ लिग–२ को पाँचौं स्थानमा उक्लियो, सोझै ओडीआई मान्यता प्राप्त गर्न अब चारमध्य दुई खेल जित्नुपर्ने बाध्यता ।

१५. अमेरिकाद्वारा प्रसंशा : युद्धकालमा जापानले जबर्जस्ती श्रममा लगाएका दक्षिण कोरियाली पीडित र उनीहरूका आफन्तलाई क्षतिपूर्ति दिने दक्षिण कोरियाको घोषणा प्रसंशायोग्य भएको अमेरिकाको भनाइ, ३५ वर्षको अवधिमा जापानले करिब सात लाख ८० हजार कोरियालीलाई जबर्जस्ती श्रममा संलग्न गराएको सियोलको तथ्याङ्क ।

प्रतिक्रिया
सम्बन्धित