बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS: अन्तिम समयमा जोगियो सुदूरपश्चिम प्रदेश सरकार

दैनिक नेपाल २०७९ फागुन २१ गते २३:१४

काठमाडौं, २१ फागुन । सुदूरपश्चिम प्रदेश सरकार अन्तिम समयमा ढल्नबाट जोगिएको छ ।

आइतबार बिहानसम्म मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने अडानमा बसेका दलहरुले एकाएक निर्णय परिवर्तन गरेसँगै काँग्रेसका शाह नेतृत्वको सरकार जोगिएको हो ।

यसअघि माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेका थिए । तर सुदूरपश्चिम माओवादीलाई प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत दिन ठाडो निर्देशन दिएसँगै माओवादी केन्द्रले निर्णय परिवर्तन गर्दै विश्वासको मत दिएको हो ।

नागरिक उन्मुक्ति पार्टीले पनि केन्द्रमा शीर्ष नेताहरुबीच सहमति भएको भन्दै अन्तिम समयमा विश्वासको मत दिएको हो ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–

१. विश्वविद्यालय खोल्ने हल्ला झुठो : सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय नगरेको सरकारको प्रष्टीकरण, अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णत: भ्रमपूर्ण रहेको भनाइ ।

२. फेरि मिलौँ : माओवादी आन्दोलनका सबै समूह र धारलाई एक ठाउँमा आउन प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वान, माओवादी आन्दोलन कमजोर नभए पनि विभिन्न धारमा बाँडिएपछि प्रभाव घटेका कारण पुन: एकताबद्ध हुनुपर्नेमा जोड ।

३. समस्या समाधानमा सरकार गम्भीर : बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउन पनि तयार रहेको जानकारी ।

४. सत्ता स्वार्थले देश अप्ठेरोमा : अहिले सरकारमा रहेका र सरकारलाई समर्थन गरिरहेका दलहरुले सत्तास्वार्थको राजनीति गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी, स्वार्थको राजनीति गर्दा एमालेलाई कुनै अप्ठेरो नभए पनि देशको अर्थतन्त्र र राष्ट्रिय स्वाधीनतामा असर परिरहेको भनाइ ।

५. फेरि एक होलान् ? : नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपा एमालेका महासचिव शंकर पोखरेलबीच गोप्य भेटवार्ता, पार्टी एकताको विषयमा सकारात्मक छलफल ।

६. मुख्यमन्त्रीले पाए विश्वासको मत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत, विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत पर्‍यो ।

७. माओवादीको आपत्ति : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्वको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशविरुद्व माओवादी केन्द्रको आपत्ति, सर्वोच्चको आदेश शान्ति सम्झौता विपरीत र पूर्वाग्राही रहेको भनाइ ।

८. अब नेपालको जहाज पनि दक्षिण कोरियामा : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दक्षिण कोरियामा सिधा उडान गर्ने, दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी ।

९. तर्सायो भूकम्पको धक्काले : आइतबार बिहान काभ्रेपलाञ्चोक र अछामलाई केन्द्रबिन्दु बनाएर भुक्म्पको धक्का महसुस, ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युड र ८ बजेर ३५ मिनेटमा अछामको छतारा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रद्वारा जानकारी ।

१०. दु:खद खबर : आइतबार बिहान ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ दियालेमा ना १ ज ८४७३ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु ११ जना घाइते, मृत्यु हुनेमा चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठ, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो ।

११. नेपालको गौरब : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान, पाइलट भावना पन्तसँगै को–पाइलट श्रृजना राउतको टोलीले काठमाडौंबाट यूएईका लागि भरे उडान ।

१२. साताको पहिलो दिन नै बढ्यो मूल्य : साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीनसयले बढ्यो, छापावाल सुन प्रतितोला एक लाख दुई हजार आठ सय, तेजावी सुन प्रतितोला एक लाख दुई हजार तीन सय र चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार ।

१३. घट्यो नेप्से : आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट, नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम ।

१४. पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न असफल : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल, पक्राउ गर्न प्रहरी घरमा पुगेपनि सयौं समर्थकहरूले घेरेपछि प्रहरी फिर्ता ।

१५. मछिन्द्र फुटबल क्लब स्तब्ध : साविक विजेता मछिन्द्र फुटबल क्लब नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबलको पहिलो खेलमै पराजित, जावलाखेल युथ क्लब ३–१ गोलले विजयी ।

प्रतिक्रिया
सम्बन्धित