बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS : माधवका भाइको रहस्यमय निधन, प्रधानमन्त्री पक्राउ पर्ने सम्भावना

दैनिक नेपाल २०७९ फागुन २० गते २३:४१

काठमाडौं, २० फागुन । निर्वाचनले दिएको अस्थिर परिणामका कारण पहिलो गठबन्धन दुई महिनामै छिन्नभिन्न भयो ।

पुरानो व्यँताएको नाममा अर्को नयाँ गठबन्धन निर्माण गरिएको छ, तर त्यो गठबन्धनका कारण सरकार नै ढल्ने खतरा बढेको छ । सरकार ढाल्ने वा प्रचण्डलाई सत्ताबाट हटाउने प्रयासस्वरुप दलहरूले परोक्ष रूपमा खेल सुरू गरेको घटनाक्रमहरूले देखाएको छ ।

त्यसको एउटा मुख्य उदाहरण प्रधानमन्त्री प्रचण्डलाई पक्रेर उनको अभिव्यक्तिमाथि छानविनको माग गर्नु हो । त्यसका लागि कानुनका व्यक्तिहरूले भोलि सर्वोच्च अदालतमा रिट दर्ता गर्ने बताइसकेका छन् ।

आज ६ तलामाथिबाट हाम फालेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका भाइ सरोज उपाध्याय (नेपाल) को उपचारका क्रममा निधन भएको छ । यस्तै नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित गर्दै विदेशी रिझाउन पुष्पकमल दाहाल नेतृत्वको सरकार उद्दत् रहेको विभिन्न तथ्यहरूबारे खुलासा र उजागर गरेका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

१. परिवर्तन विरोधीहरूद्वारा सत्ता कब्जा : क्षुद्र स्वार्थमा अल्झिएका तथा सामाजिक रूपान्तरण र परिवर्तनका विरोधी शक्तिहरूले सत्ता कब्जा गरी देशलाई विदेशी शक्तिका लागि खेलमैदान बनाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, देशका लागि एमालेले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भएकोमा चिन्ता व्यक्त ।

२. प्रधानमन्त्री पक्रिन माग : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गरी अनुसन्धान गर्ने मागसम्बन्धी रिट भोलि सर्वोच्च अदालतमा दर्ता हुँदै, द्वन्द्वकालमा मारिएकामध्ये पाँच हजार जनाको मात्रै जिम्मा लिने अभिव्यक्तिमाथि छानविन गर्नुपर्ने माग ।

३. दु:खद निधन : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाइ तथा पार्टी केन्द्रीय सदस्य सरोजकुमार उपाध्याय (नेपाल)को निधन, शंखमुलस्थित एक घरको ६ तला माथिबाट खसेर गम्भीर घाइते भएका नेपालको उपचारका क्रममा निधन ।

४. सुदूरको सरकार फेरि सङ्कटमा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने नेकपा (माओवादी केन्द्र)को निर्णय, मुख्यमन्त्रीलगायत सबै एजेण्डाबारे प्याकेजमा लिखित सहमति बनाउनुपर्ने माओवादीको माग, उस्तै मागमा नागरिक उन्मुक्ति पार्टी पनि अडान ।

५. एमालेमा प्रवेश : नेकपा (एकीकृत समाजवादी) निकट स्थानीय तह कर्मचारी संघ नेपाल नेकपा एमालेको जनसंगठन पेशागत महासंघ नेपालमा समाहित, एमाले अध्यक्ष केपी शर्मा ओलीले संघका अध्यक्ष हरिकुमार श्रेष्ठलगायत पदाधिकारीहरूलाई खादा र टीका लगाएर गरे स्वागत ।

६. प्रचण्डका कारण देश सङ्कटमा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद र शक्तिको चरम लोभ गर्दा नेपालको राजनीतिक र आर्थिक अवस्था जटिल मोडमा पुगेको नेकपा एमालेका सचिव गोकर्ण विष्टको भनाइ, मुलुकमा परनिर्भरता चाहने शक्तिहरू बलशाली बनेकाले सङ्कट थप गहिरिने भन्दै चिन्ता व्यक्त ।

७. क्षेत्रीहरू आदीवासी नै हुन् : क्षेत्रीहरू यो देशको आदिवासी भएको निष्कर्षमा पुगे उपराष्ट्रपति नन्दबहादुर पुन, क्षेत्रीहरू आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह ।

८. प्रचण्डको खुट्टामा कांग्रेसको तेल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुट्टामा तेल घसेर कांग्रेस कहिल्यै बलियो बन्न नसक्ने नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाको धारणा, सत्ताको नेतृत्वका लागि प्रचण्ड भन्दा जनमतका दृष्टिकोणबाट शेरबहादुर देउवा नै उपयुक्त हुने भनाइ ।

९. एमाले फेरि एक्लै मैदानमा : आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनहरूले सहकार्य गर्ने, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन एकजुट हुँदा एमालेसम्बद्ध अनेरास्ववियु एक्लै चुनावी मैदानमा ।

१०. दु:खद दुर्घटना : प्युठानको माण्डवी गाउँपालिका–५ आपचौरस्थित बाटोमा काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसीबी र एमाले नेता सवार लु २१ प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक रामबहादुर थापा ‘गोपाल’को घटनास्थलमै मृत्यु, पछाडि सवार ऐरावती–२ की बसन्ता भुसाल आचार्य घाइते ।

११. उद्धार गरिएकी वृद्धाको मृत्यु : पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी पोखरा–१ बगर बस्ने ७० वर्षीया याममाया गिरीको मृत्यु, घाइते भएका अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीद्वारा जानकारी ।

१२. बढी भाडा लिने पक्राउ : निर्धारित दरभन्दा धेरै भाडा असुल्ने पाँच जनालाई ट्राफिक प्रहरीले पक्रियो, तोकिएको भन्दा बढी असुलिएको भाडा यात्रुलाई फिर्ता गराइएको ट्राफिक प्रहरीको भनाइ ।

१३. फ्लाइओभरको काम तीव्र : ग्वार्को–सातदोबाटो सडक खण्डमा निर्माण सुरू गरिएको नेपालकै पहिलो फ्लाईओभरको काम तीव्र बनाइँदै, निर्धारित दुई वर्षभित्रै काम सक्ने सडक विभागको योजना ।

१४. आप्रवासीको भागाभाग : ट्युनिसियामा राष्ट्रपतिको कारबाहीपछि सयौँ आप्रवासीको भागभाग, शनिबार १०० भन्दा बढी मालीवासीले ट्युनिसिया छोडेको एक कूटनीतिज्ञको दाबी ।

१५. अङ्क बराबरी : मनाङ मर्स्याङ्दी क्लबले आफ्नो अग्रता जोगाउन नसक्दा शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमा हिमालयन शेर्पासँग बाँढ्यो अंक, भोलि आइतबार एनआरटी र सातदोबाटो युथ क्लब, त्रिभुवन आर्मी एफसी र संकटा क्लब तथा साविक विजेता मछिन्द्र एफसी र जावलाखेल युथ क्लबबी प्रतिस्पर्धा हुँदै ।

प्रतिक्रिया
सम्बन्धित