बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ फागुन १९ गते २१:२८

काठमाडौं, १९ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरुको दौडधूप बाक्लिएको छ ।

राष्ट्रपतिका लागि नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । शुक्रबार पनि एमालेका उम्मेदवार नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीको कार्यालयमै पुगेर मत मागेका छन् ।

दुवै दलले पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएका थिए । यसैबीच, दुधको मूल्य बढेको छ सरकारले दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ ५० पैसाले बढाएको हो ।

मूल्य बढेसँगै अब दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा कायम भएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

१. बढ्यो दुधको मूल्य : सरकारकाले दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ ५० पैसाले बढायो, अब दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा कायम ।

२. प्रधानमन्त्रीको जोड : युवालाई रोजगार र उद्यमशील बनाउनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेकोमा जोड ।

३. मतका लागि आग्रह : नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदावर रहेका सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरुले लोकतान्त्रिक समाजवादी र जनमत पार्टीको कार्यालयमै पुगेर मागे मत, पार्टीको बैठक बसेर निर्णय लिने दुवै दलको जवाफ ।

४. उपराष्ट्रपति जसपालाई होइन, हामीलाई : आठ दलबीच उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति नभएको जनमत पार्टीका अध्यक्ष सीके राउतको भनाइ, उपराष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने दाबी ।

५. गठबन्धनले देश विभाजन गर्छ : राष्ट्रपति पदमा गठबन्धन गरेर देशलाई विभाजन गर्न नहुने नेकपा एमालेका सचिव योगेश भट्टराईको भनाइ, आठ दलीय गठबन्धन अस्थायी भएको धारणा ।

६. आर्थिक सुधारमा सरकार गम्भीर छ : देशको अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ, देशलाई सन्तुलन तवरले अघि बढाउन राज्य मात्र नभई निजी क्षेत्रको पनि उत्तिकै महत्व रहेको हुँदा सबै पक्ष हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड ।

७. महिला उपसभामुखलाई विभेद : सरकारबाट पाउनुपर्ने सेवा सुविधा नपाएको प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको गुनासो, पुरुष र महिला उपसभामुखमा विभेद गरिएको भनाइ ।

८. मन्त्रीको निर्देशन : सेक्युरिटी प्रिन्टिङ प्रेसबाट चैत मसान्तभित्र अन्त:शुल्क स्टिकर छाप्न सञ्चारमन्त्री रेखा शर्माको निर्देशन, अन्त:शुल्क छाप्न अर्थमन्त्रालयबाट बजेट विनियोजन भएको भन्दै चैत मसान्तसम्म छाप्न आग्रह ।

९. दुई महाप्रबन्धक नियुक्त : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त, गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हंशराज पाण्डे ।

१०. नगरप्रहरीमाथि आक्रमण गर्ने पक्राउ : गत मंसिर १२ गते थापाथलिस्थित सुकुम्बासी बस्ती हटाउन पुगेका काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरीमाथि आक्रमण गर्ने दुई जना पक्राउ, पक्राउ पर्नेमा नारायण परिश्रमिक र हुकुमबहादुर लामा ।

११. सफाइविरुद्व प्रदर्शन : अभिनेता पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्व उच्च अदालत अगाडि प्रदर्शन, न्यायालयलाई गल्ती गर्ने छुट नभएको भनाइ ।

१२. ब्याजदरको मारमा व्यापारी : बैंकको ब्याजदर घटाउन माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि व्यापारीहरुको धर्ना, भोलिबाट आन्दोलनलाई थप सशक्त बनाउने ।

१३. शुक्रबार भने घट्यो मूल्य : शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, तोलामा एकसयले घटेर छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँचसय, तेजाबी सुन प्रतितोला १ लाख दुई हजार र चाँदी तोलामा पाँच रुपैयाँले घटेर १२ सय ६५ रूपैयाँमा कारोबार ।

१४. रकेट प्रक्षेपण गर्दै जापान : जापानले आगामी हप्ता एच–थ्री रकेटको पहिलो प्रक्षेपण गर्ने, तानेगाशिमा अन्तरिक्ष केन्द्रको प्रक्षेपण स्थलबाट रकेट प्रक्षेपण गर्ने योजना रहेको जानकारी ।

१५. नेपालको जित : आईसीसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीमाथि नेपालको जित, पीएनजी तीन विकेटले पराजित ।

प्रतिक्रिया
सम्बन्धित