बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS: प्रदेश १ ले बल्ल पायो नाम, केन्द्रमा व्यवस्था परिवर्तनको चर्चा

दैनिक नेपाल २०७९ फागुन १७ गते २२:३८

काठमाडौं, १७ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकदै जाँदा उम्मेदवारहरू एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका रामचन्द्र पौडेल मत माग्न व्यस्त भएका छन् ।

आठदलीय गठबन्धनका विरुद्ध एक्लै चुनावी प्रतिस्पर्धामा रहेको एमालेले परिणाम आफ्नो पक्षमा पार्न सक्रियता तीव्र पारेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली आफैले विभिन्न पार्टीका नेता तथा मतदाताहरूसँग भेट गरी मत अपील गरिरहेका छन् ।

यस्तै प्रदेश गठन भएको करिब ६ वर्षपछि प्रदेश नं. १ ले कोसी प्रदेश नाम पाएको छ भने केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलसँगै मुलुकमा संविधानको धारा ७६ (३) बमोजिम नयाँ सरकार गठनको चर्चा सुरू भएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरूकै कारण विद्यमान व्यवस्था भद्रगोल भएको भन्दै यही अवस्था कायम रहँदै गए मुलुकमा व्यवस्था नै परिवर्तन हुन सक्ने दाबी गरेका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

१. मत माग्दै जाँदा… : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग मागे राष्ट्रपतिका लागि भोट, गौतम निवास भैंसेपाटी पुगेका ओलीद्वारा गौतमलाई एमालेमै फर्किन आग्रह ।

२. बल्ल पायो प्रदेशले नाम : प्रदेश नं. १ को नामाकरणबारे एमालेका प्रदेश सभा सदस्य राम रानामगरको प्रस्ताव प्रदेश सभा बैठकद्वारा स्वीकृत, प्रदेश १ को नाम कोशी प्रदेश कायम, किराँत लिम्बुवान र सगरमाथा अस्वीकृत ।

३. सकियो अनुसन्धान : अछामका पृथ्वीबहादुर शाहविरुद्व सीआईबीले सकायो अनुसन्धान, ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध शीर्षकका चारवटा कसुरमा मुद्दा चलाउन सुझाव ।

४. काँग्रेस र एमालेको चेपुवामा संसद : प्रतिनिधि सभा बैठक चैत पाँच गतेसम्मका लागि स्थगित, नेपाली काँग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षको बेञ्चमा बस्न पाउनुपर्ने माग गरेपछि बैठक नै प्रभावित ।

५. नयाँ सरकारको सम्भावना : राष्ट्रपतिको निर्वाचनपछि मुलुकमा कांग्रेस नेतृत्वको सरकार निर्माण हुनसक्ने नेकपा एमालेका महासचिव शंकर पोखरेलको दाबी, कांग्रेसलाई माओवादी बोकिरहनुपर्ने बाध्यता नभएको र संविधानको धारा ७६ (३) बमोजिम नयाँ सरकार गठनको ढोका खुला भएको भनाइ ।

६. गणतन्त्रको विकल्प खोजी ! : दलहरूका कारण गणतन्त्र भद्रगोल भएकाको भन्दै व्यवस्था परिवर्तन हुनसक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ, मुलुकको अवस्था अत्यन्तै नाजुक भएकाले विद्यमान व्यवस्थाको विकल्प खोजी हुन थालेको दाबी ।

७. चुनाव चिह्न परिवर्तन : राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नमा सामान्य फेरबदल, घण्टी बाहिरको गोलो घेरा हटाइयो ।

८. जेलभित्रै जाँड–रक्सी र जुवा : इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामद्वारा छानबिन सुरू, अनुसन्धानका लागि तीन सदस्यीय समिति गठन ।

९. रास्वपाद्वारा पार्टी विस्तार : राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सात वटैै प्रदेशमा प्रदेश समिति गठन, प्रदेश नं १ मा राजेश तिम्सिना, मधेस प्रदेशमा तपेश्वर यादव र बागमती प्रदेशमा अचुतम लामिछानेलाई सभापतिको जिम्मेवारी ।

१०. सबै सांसदलाई पत्राचार : राष्ट्रपतिका उम्मेदवार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै सांसदलाई पठाए पत्र, राष्ट्रपतिमा आफूलाई मतदान गर्न आग्रह ।

११. एमाले अखिलको आपत्ति : भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगरी नेपाली बजारमा भित्र्याउने सरकारको कदमप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)द्वारा आपत्ति प्रकट, भारतीय व्यापारी रिझाउन परीक्षण रोकिएको भनाइ ।

१२. फरार कैदी पक्राउ : प्रहरीको भ्यानबाटै हाम फालेर फरार भएका बलात्कार आरोपका कैदी जनकनन्दनी गाउँपालिकाका राजाबाबु मुखिया पक्राउ, मंगलबार जिल्ला अदालत धनुषाबाट म्याद थप गरेर फर्कँदै गर्दा गाडीबाटै हाम फालेर भागेको प्रहरीद्वारा जानकारी ।

१३. बढ्यो सुनचाँदीको मूल्य : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढ्यो, तोलामा पाँच सयले बढेर छापावाल सुन प्रतितोला एक लाख दुई हजार ३ सय, तेजाबी सुन प्रतितोला एक लाख एक हजार ८ सय रूपैयाँ र चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेर १ हजार २५५ रूपैयाँमा कारोबार ।

१४. चीनलाई बेलारूसको साथ : चीनको युक्रेन शान्ति योजनामा बेलारुसको ‘पूर्ण समर्थन’ रहेको बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोको भनाइ, मस्कोले युरोपेली छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्न असफल भएको भन्दै पश्चिमी देशहरूद्वारा चीनको आलोचना ।

१५. केपी ओली कपको उपाधि सातदोबाटोलाई : पेनाल्टी सुटआउटमा सातदोबाटो युथ क्लबलाई ५–४ को नतिजामा पराजित गर्दै मछिन्द्र फुटबल क्लबले जित्यो केपी ओली कपको उपाधि, विजेताले १० लाख रूपैयाँ र उप–विजेताले पाँच लाख रूपैयाँ पाए ।

प्रतिक्रिया
सम्बन्धित