शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मिस नेपाल नर्थ अमेरिका २०२३ को आवेदन खुल्यो

विजय थापा २०७९ फागुन १७ गते १०:२०

न्यूयोर्क, १७ फागुन  । विश्व कै सम्राट राज्य न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ को आवेदन पत्र खुला गरिएको छ । आवेदन (एप्लिकेसन) फेब्रुअरी २८ देखि प्रारम्भ गरिएको छ भने आवेदन दिने अन्तिम मिति मे ३१ ,२०२३ सम्म रहेको छ ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्ट महिनामा हुँदै आएता पनि यस वर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ । विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुने आयोजक संस्थाका संस्थापक सैलेश श्रेष्ठले बताए ।

‘अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गर्नेछ । मिस नेपाल नर्थ अमेरिका (एमएनएनए)ले नेपाली महिलाहरूलाई आफ्नो महत्वाकांक्षा साकार पार्न, आत्मसम्मान बढाउन र रोल मोडेल बन्न मञ्च प्रदान गर्ने विश्वास लिएको छ ।

गत वर्ष न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ मा प्रतियुशा बोहरा विजेता बनेकी थिइन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी थिइन् ।

मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकी थिइन् भने निशा पाठक तथा साहना बज्राचार्यद्वय कार्यक्रम प्रस्तोता रहेका थिए । मिस नेपाल नर्थ अमेरिका २०२२ मा नेपाल सुन्दरी प्रियंका रानी जोशीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित