बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS: संघीय सरकारमा समीकरण परिवर्तनको प्रभाव प्रदेश सरकारमा पनि

दैनिक नेपाल २०७९ फागुन १६ गते २०:५९

काठमाडौं, १६ फागुन । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रभाव प्रदेश सरकारहरुमा पनि परेको छ ।

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीको निर्णयपछि लुम्बिनी प्रदेश सरकार धरापमा परेको छ ।

बुधबार बस्ने प्रदेशसभा बैठकबाट समर्थन फिर्ता लिइने दुई दलले बताएका छन् । दुई दलले समर्थन फिर्ता लिएसँगै नेकपा एमालेका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित बनेको छ ।

हेरौँ दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु-

१. प्रधानमन्त्रीको भरमा १६ मन्त्रालय : नेकपा एमालेका मन्त्रीहरुले बुझाएको राजीनामा स्वीकृत, १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै ।

२. मत माग्दै पत्र : राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत माग्दै काँग्रेस सभापति शेरबहादुर देउवाले पठाए एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र, विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति विशिष्ट पहिचान रहिआएको उल्लेख ।

३. निर्वाचन खर्चको सीमा निर्धारण : निर्वाचन आयोगद्वारा राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण, उम्मेदवारले प्रचारप्रसारका लागि चार लाख खर्च गर्न पाउने ।

४. जाति माझी समुदायको लदीपर्वमा प्रधानमन्त्री : वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउन दृढ रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको भनाइ ।

५. सरकारबाट नबाहिरिने : जनमत पार्टी तत्काल सरकारबाट नबाहिरिने जनमत पार्टीका अध्यक्ष सीके राउतको भनाइ, माओवादी केन्द्रको नेतृत्वमै सरकार रहेकाले सरकार बदलिएको भन्न नमिल्ने धारणा ।

६. उपनिर्वाचन लड्दै १८ दल : चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता, रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुँदै ।

७. गल्ती सच्चियो : पुस १० गतेको गल्ती सच्चाइएको नेपाली काँग्रेसका महामन्त्री गगन थापाको भनाइ, जनतालाई कामले परिणाम दिन नसके फेरी अप्ठेरो अवस्था आउने भएकाले झ्याल ढोका बन्द गरेर काममा लाग्नुपर्नेमा जोड ।

८. धरापमा पर्दै लुम्बिनी सरकार : लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीको निर्णय, दुई दलले समर्थन फिर्ता लिएसँगै नेकपा एमालेका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित ।

९. मुख्यमन्त्रीले विश्वासको मत लिँदै : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने, यसअघि एमालेका राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीले पनि काँग्रेसका शाहलाई समर्थन गर्ने वचन ।

१०. २०२६ सम्म नेपाल आत्मनिर्भर हुन्छ : सन २०२६ सम्म नेपाल विद्युतमा आत्मनिर्भर हुने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दाबी, प्रत्येक वर्ष ८ सय मेगावाट विद्युत् उत्पादन बढ्दै गएको भनाई ।

११. दुर्घटनामा मृत्यु : सप्तरीको कञ्चनरुप नगरपालिकामा मंगलबार बिहान बुलेरो र स्कर्पियो एकापासमा ठोक्किँदा तीन जनाको मृत्यु, मृत्यु हुनेमा दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साह ।

१२. सकुशल उद्दार : चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरीद्दारा सकुशल उद्दार, नदीमा हाम फाल्नेमा खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो ।

१३. हात्तिको आतंक : जंगली हात्तिको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई एक/एक लाख सहयोग रकम दिने बागमती प्रदेश सरकारको निर्णय, पछिल्लो दुई सातामा बागमती प्रदेशमा जंगली हात्तिका आक्रमणबाट तीनजनाको मृत्यु ।

१४. इस्लामिक इस्टेटका कमान्डर मारियो : अफगानिस्तानको राजधानीमा कूटनीतिक नियोगहरू विरुद्ध हमला गर्ने योजना बनाएको कथित इस्लामिक स्टेट्सका कमाण्डर मारिएको तालिबान सेनाको दाबी, काबुलको खैर खाना क्षेत्रमा रहेको अर्को एक कारबाहीमा एक अन्य आईएस सदस्य मारिएका भनाइ ।

१५. नेपालको लगातार जित : आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार चौथो जित, मलेसिया १० विकेटले पराजित ।

प्रतिक्रिया
सम्बन्धित