बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ फागुन १५ गते २२:२९

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको ६५ दिनमै सत्ता समीकरण फेरबदल भएको छ ।

नेकपा एमालेको साथमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड काँग्रेस लगाएतका आठ दलहरुसँग मिलेर आठ दलीय गठबन्धन बनाएपछि सत्ता समीकरण बदलिएको हो ।

यसैबीच, नेकपा एमालेका मन्त्रीहरुले पदबाट राजीनामा दिएपछि ६५ दिनमै प्रचण्डको सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्रीले अब पुन: संसदबाट विश्वासको मत लिनुपर्ने भएको हो ।

हेरौँ सोमबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु-

१. सरकारबाट बाहिरियो एमाले : सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने नेकपा एमालेको निर्णय, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट मन्त्री बनेकाहरूलाई हटाउने तथा बिना विभागीय बनाउने षड्यन्त्र गरेको आरोप ।

२. मन्त्रीहरुको राजीनामा, सरकार अल्पमतमा : नेकपा एमालेकातर्फबाट मन्त्री बनेकाहरुले बुझाए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा, प्रचण्ड सरकार अल्पमतमा, प्रधानमन्त्रीले पुन: संसदबाट विश्वासको मत लिनुपर्ने ।

३. सरकारलाई समर्थन कायमै : सरकारमाथिको समर्थन कायमै राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय, चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि प्रक्रिया अगाडि बढाउन ।

४. इन्सेकले जनायो आपत्ति : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेकोमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आपत्ति, आफ्नै नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयविपरीत अन्तिम क्षणमा भ्रमण रोक्ने प्रधानमन्त्रीको कार्यले विश्व मानव अधिकार समुदायलाई सशङ्कित तुल्याउने खतरा बढेको भनाइ ।

५. विदेश गएर खेल्ने बाटो खुल्यो : विदेशमा गएर खेल्न सन्दीप लामिछानेलाई सर्वोच्च अदालतको अनुमति, खेल सकिएको १५ दिनभित्र काठमाडौं जिल्ला अदालतमा हाजिर हुनुपर्ने ।

६. सकियो जेलको बसाइ : बलात्कार आरोपमा एकवर्षदेखि तनहुँ कारागारमा रहेका अभिनेता पल शाह उच्च अदालत पोखराले आइतबरा सफाइ दिएपछि सोमबार बिहानै रिहा, सयौँ समर्थकले कारागार बाहिर पुगेर गरे स्वागत ।

७. शोक प्रस्ताव पारित : प्रतिनिधि सभाबाट सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित, अर्को बैठक बुधबार बस्ने ।

८. सहिदहरुको नाम राजपत्रमा : शहीद घोषणा गरेकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय, यसअघि मन्त्रिपरिषदबाट शहीद घोषणा भइसकेको तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरुको नाम प्रकाशित गरिने ।

९. हत्याको आशंका : बैतडीमा शनिबार पिकनिक खान गएका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बडालको मृत्यु प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गर्‍यो, पक्राउ पर्ने सबै सँगै पिकनिक खान गएका आफन्त तथा साथिहरु ।

१०. सुरु भयो होली : रंगहरुको पर्व होलीको विधिवत् रुपमा शुभारम्भ, काठमाडौंको हनुमानढोकमा तीन तले चीर ठड्याइयो ।

११. घट्यो सुनचाँदीको मूल्य : नेपाली बजारमा सोमबार पनि घट्यो सुनको मूल्य, सुनको मूल्य तोलामा दुईसयले घटेर छापावाल सुन प्रतितोला एक लाख १ हजार आठसय रुपैयाँ, तेजाबी सुन प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँ र चाँदीको मूल्य पाँच रूपैयाँले घटेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार ।

१२. बालिका बलात्कृत : बझाङको खप्तडछन्ना गाउँपालिका ७ मा दुई वर्षीया बालिका बलात्कृत, बलात्कार आरोपमा हजुरबुबा नाता पर्ने स्थानीय ६८ वर्षीय वृद्द पक्राउ ।

१३. विपत्तिले छोेडेन : पूर्वी टर्र्कीएमा पुन: ५ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गयो, एकजनाको मृत्यु, ६९ जना घाइते, यसअघिको भूकम्पमा परेर हालसम्म ४४ हजारभन्दा धेरैको मृत्यु ।

१४. लगातार तेस्रो जित : आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले पराजित ।

१५. सातदोबाटो फाइनलमा : सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पिएसिपको फाइनलमा प्रवेश, त्रिभुवन आर्मी क्लब सडन डेथमा ६–५ गोल अन्तरले पराजित ।

प्रतिक्रिया
सम्बन्धित