
काठमाडौं, १५ फागुन । मुलुकको अर्थतन्त्र ‘मन्दीतर्फ उन्मुख’ भएको छ । एकातर्फ वस्तु तथा सेवाको उत्पादन र मागमा निरन्तर गिरावट आएको छ भने अर्कातर्फ आर्थिक वृद्धिदरमा संकुचन देखिएको छ ।
आर्थिक क्रियाकलाप शिथिल हुँदै जाँदा अर्थतन्त्रमा समस्या देखिएको हो। अर्थतन्त्रमा देखिएको संकुचनले आर्थिक वृद्धिदरमा प्रत्यक्ष असर पुगेको छ।
तथ्यांक विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासमा आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित भएको छ । गत वर्ष सोही अवधिमा आर्थिक वृद्धिदर ३ प्रतिशत थियो । सरकारले चालु आवमा आर्थिक वृद्धिको लक्ष्य ८ प्रतिशत राखेको थियो । राष्ट्रिय योजना आयोगका अनुसार संशोधित अनुमानअनुसार आर्थिक वृद्धिदरको लक्ष्य ४.५ प्रतिशत हुनेछ ।
चालु आवको पहिलो त्रैमाससम्मको तथ्यांकले आर्थिक वृद्धि ०.८ प्रतिशत मात्र सीमित देखिएकाले अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको अर्थविज्ञहरूले बताएका छन् । अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको संकेत देखिएको अर्थविज्ञ डा. डिल्लीराज खनालले बताए। ‘अर्थतन्त्रका सूचकांकले खतरा देखाएको छ,’ उनले भने । उद्योगको उत्पादनमा कमी, उच्च मूल्यवृद्धि, क्रयशक्तिमा कमी, निजी क्षेत्रको निराशा, आर्थिक क्रियाकलापमा सुस्ततालगायत कारणले अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको खनालले बताए । ‘उद्योगको उत्पादन घटेको छ,’ खनालले भने, ‘सबैतर्फ नकारात्मक असर देखिएको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया