बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ फागुन १४ गते २१:३५

काठमाडौं, १४ फागुन । बालिका बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहले पूर्ण रुपमा सफाइ पाएका छन् ।

उच्च अदालत पोखराले आइतबार शाहलाई दाबी नपुगेको भन्दै सफाइ दिएको हो । अदालतले सफाइ दिएसँगै पल भोलि नै कारागारमुक्त हुनेछन् ।

उनी एक वर्षपछि कारागारमुक्त हुन लागेका हुन् । उनलाई तनहुँ जिल्ला अदालतले भने यसअघि नै सफाइ दिएको थियो । तर नवलपुर जिल्ला अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगको आरोपमा साढे दुई वर्ष जेल सजाय सुनाएको थियो ।

पलले उच्च अदालतको फैसलाविरुद्व उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

हेरौँ आइतबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. मन्त्रीहरुको राजीनमा स्वीकृत : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेका उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहको राजीनामा स्वीकृत, रिक्त तीनवटै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै ।

२. कतार जाँदै प्रधानमन्त्री : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी शुक्रबार कतार जाँदै, अतिकम विकसित मुलुकहरु (एलडिसिज) को सम्मेलनलाई सम्बोधन गर्ने ।

३. नगन्य राष्ट्रिय सहिदहरु : जनयुद्दका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई, २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिदहरू राष्ट्रिय गौरव भएकाले उच्च सम्मान गर्नुपर्ने धारणा ।

४. जनयुद्दको सम्झना छ कि छैन ? : आफूले चलाएको जनयुद्दको सम्झना छ कि छैन भन्दै एमाले अध्यक्ष केपी ओलीले गरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न, गैरसरकारीस्तरबाट द्वन्द्वपीडित परिवारलाई अर्थपूर्ण सहयोग गर्न सम्भव नभएको बताउँदै यसमा सरकारले ध्यान दिनुपर्नेमा जोड ।

५. छुट्ने भए पल : बाल यौन दुरुपयोगको आरोप लागेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट पनि पाए सफाइ, भोलि रिहा हुँदै ।

६. एमाले पनि सँगै हुनुपर्छ : नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाई, आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने दाबी ।

७. रास्वपाले बोलायो बैठक : राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारका लागि बोलायो केन्द्रीय कमिटी बैठक, राष्ट्रपतिमा कसलाई मतदान गर्ने, चितवन २ को उपनिर्वाचन लगायत विषयमा छलफल हुने ।

८. संवादको ढोका खुल्यो : नेकपा एमालेले राष्ट्रपतिमा सहयोग माग्दै पत्र पठाएपछि संवादको बाटो खुलेको एकीकृत समाजवादी पार्टीको प्रतिक्रिया, राष्ट्रपतिमा एमालेको अनुरोधलाई स्वीकार्न नसकिए पनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुन सक्ने प्रवक्त जगन्नाथ खतिवडाको भनाइ ।

९. सन्दीपको पक्षमा आउला आदेश ? : क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतमा आज हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाई हुँदै ।

१०. दु:खद घटना : बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको मृत्यु, शनिबार राति हितङ्गा सवार लु ८ प ९०६८ नंको मोटरसाइकललाई सुपप्र ०७–०२–००१ख १२५६ नंको यात्रुबाहक बसले ठक्कर दिँदा हिताङ्गेको गयो ज्यान ।

११. घट्यो सुनचाँदीको मूल्य : साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घट्यो, सुनको मूल्य तोलामा चारसयले घटेर छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ, तेजाबी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँ र चाँदीको मूल्य १५ रूपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार ।

१२. नेपाली किशोरी बन्धक बनाउने चिनियाँ पक्राउ : नेपाली किशोरीहरुलाई बन्धक बनाउने चिनियाँ नागरिक, याङ मि लिङ पक्राउ, विभिन्न प्रलोभनमा पारी जिल्लाबाट काठमाडौं ल्याएर बन्धक बनाइएका पाँचजना किशोरीहरुको उद्दार ।

१३. म्यानपावरमा छापा : पूर्व स्वीकृति नलिई अन्तर्वार्ता लिने म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागद्वारा छापा, काठमाडौंको सुकेधारामा रहेको एसियापावर रिक्वइटमेन्ट कन्सल्टेन्ट प्रालिमा विभागले छापा मारेर पासपोर्टसहित आवश्यक कागजात नियन्त्रणमा लिएको जानकारी ।

१४. रुसमाथि थप प्रतिबन्ध लगाऔँ : रुसमाथि थप थप प्रतिबन्ध लगाउन युक्रेनी राष्ट्रपति भोदिलिमिर जेलेन्स्कीको माग, शनिबार मात्रै रुसले २७ वटा हवाई आक्रमण तथा रकेट लन्चरबाट ७५ पटक प्रहार गर्दा डोनेट्स्क प्रान्तमा पाँच जना गैरसैनिक घाइते ।

१५. छनौट खेल नेपालले आयोजना गर्ने : नेपालले सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू आयोजना गर्ने, एसियाली फुटबल महासंघ (एएफसी) ले समूह ‘सी’ का खेलहरू नेपालमा आयोजना हुने पक्का गरेको भनाई ।

प्रतिक्रिया
सम्बन्धित