बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS : धोकाको राजनीतिले अस्थिरता निम्तियो, बालेनलाई राजीनामाको दबाब

दैनिक नेपाल २०७९ फागुन १३ गते २२:०६

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसले पाखा लगाउन खोजेका बेला नेकपा एमालेको पहल र अग्रसरतामा प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यही एमालेलाई धोका दिएर पुरानो गठबन्धनतिरै समावेश भएका छन् ।

आफू प्रधानमन्त्री बन्ने शर्तमा करिब दुई महिनाअघि दलहरूसँग गरेका सहमतिहरू प्रचण्डले लत्याएपछि मुलुक गम्भीर अस्थिरतातर्फ धकेलिएको छ । यसको मुख्य कारक प्रधानमन्त्री प्रचण्ड भएको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ ।

उनको अस्थिर खेलका कारण मुलुकको राजनीतिप्रति झन्–झन् अविश्वास बढिरहेको छ । यसबाट राजनीतिक अस्थिरता सृजना हुनाका साथै जनताको दैनिक जनजीवीकामा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ ।

यस्तै आज काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूलाई राजीनामाको दबाब आएको खुलासा गरेका छन् भने बनभोजका लागि भक्तपुरको घ्याम्पे डाँडा पुगेकी जनता समाजवादी पार्टीकी ६७ वर्षीया सांसद सहनाज रहमानको हृदयघातबाट निधन भएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

१. राष्ट्रपतिमा दुई पूर्वसभामुखबीच भीडन्त : चौथो कार्यकालको राष्ट्रपतिका लागि दुई जना पूर्वसभामुखबीच रोचक प्रतिस्पर्धा हुँदै, नेकपा एमालेको तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा उम्मेदवारी दर्ता । निर्वाचन फागुन २५ गते हुँदै ।

२. माओवादीको मत एमालेलाई : राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई नै मत दिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वास, पुस १० गते भएको सहमति अनुसार नै एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाएको भन्दै सहमति कार्यान्वयनमा जोड ।

३. माओवादीले धोका दियो : सात दलीय सत्ता गठबन्धनलाई धोका दिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थन फिर्तासहित सरकारबाट बाहिरियो, बालुवाटारस्थित प्रधानमन्त्री निवासमै पुगेर चार जना मन्त्रीले बुझाए राजीनामा ।

४. सिंहदरबार खुल्दै ! : देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदबारमा प्रवेश गर्ने आगन्तुकका लागि फोटो र प्रवेश अवधिसहितको केन्द्रीय पास वितरण गर्ने सरकारको तयारी, पास वितरण तयारी गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिद्वारा गृह मन्त्रालयलाई निर्देशन ।

५. राष्ट्रिय सहमतिको उम्मेदवार मँ : आफ्नो नाममा राष्ट्रिय सहमति बन्ने नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङको दाबी, संविधानको परिपालना गर्ने र सबैको सम्मान गर्ने व्यक्ति भएका कारण आफ्नो नाममा राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त ।

६. बनभोजमा सांसदलाई हृदयघात : भक्तपुरको घ्याम्पे डाँडामा आयोजित बनभोजमा सहभागी जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन, ६७ वर्षीया रहमानको हृदयघातबाट निधन भएको पार्टीद्वारा जानकारी ।

७. आफ्नो राजीनामाबारे बालेनको नयाँ खुलासा : आफूलाई राजीनामा दिन बाध्य पार्न लागिएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’को खुलासा, घेराबन्दीकै कारण मुलुक बन्न नसकेको भनाइ ।

८. एमालेद्वारा भोट अपील : राष्ट्रपतिमा आफ्नो उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न अपील गर्दै कांग्रेसबाहेकका राजनीतिक दलहरूलाई एमालेले गर्‍यो पत्राचार, कांग्रेसको आफ्नै उम्मेदवार भएकाले पत्राचार नगरिएको भनाइ ।

९. घाइतेलाई काठमाडौं ल्याइयो : आगलागीमा परेर सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ कोसेडीका दुई जना युवालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो, ८० र ३६ प्रतिशत जलेका क्रमश: २१ वर्षीय हिमराज रोकामगर र १९ वर्षीय पिरम रोकामगरलाई काठमाडौं ल्याइएको जानकारी ।

१०. नयाँ गठबन्धन बनेको छैन : मुलुकमा नयाँ कुनै पनि गठबन्धन नबनेको नेकपा एमालेका उपमहासचिव एवम् पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङको दाबी, पुस १० गते सात दलबीच भएको सहमतिअनुसारको गठबन्धन कायम रहेको जिकिर ।

११. भण्डारीको स्वास्थ्यमा सुधार : नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै आएको भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरद्वारा जानकारी, शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर र रक्तचाप सबै सामान्य अवस्थामा रहेको भनाइ ।

१२. एमालेले सरकार नछोड्ने : पुस २५ गतेसम्म सरकार नछोड्ने नेकपा एमाले सचिवालय बैठकको निर्णय, सत्ता गठबन्धनभित्र पुस १० गते भएको सहमति पालना गराउन पहल गरिने ।

१३. प्रधानमन्त्रीले नै अस्थिरता निम्त्याए : प्रधानमन्त्री पुष्पकमल दाहालको धोकापूर्ण राजनीतिबाट मुलुक गम्भीर अस्थिरतातर्फ धकेलिएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको टिप्पणी, सात दलीय गठबन्धनमा सबै भन्दा बढी लाभ प्रचण्डले नै लिएको भनाइ ।

१४. ईयूद्वारा नयाँ प्रतिबन्ध : रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूले लगायो नयाँ प्रतिबन्ध, सैन्य र राजनीतिक निर्णयकर्ता, रुसी सैन्य उद्योगमा समर्थन गर्ने वा काम गर्ने कम्पनी र वाग्नर समूहका कमान्डरहरूलाई लक्षित गरिएको ईयू अन्तर्गतको स्वीडेनी प्रशासनको भनाइ ।

१५. नेपालको लगातार जित : आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको लगातार दोस्रो जित, शनिबार भएको दोस्रो खेलमा नेपालद्वारा कुवेत २४३ रनको फराकिलो अन्तरले पराजित ।

प्रतिक्रिया
सम्बन्धित