
मकवानपुर, १३ फागुन । मकवानपुरको एक विकट गाउँबाट हातहतियार तथा ठूलो परिणाममा लागू औषध गाँजा र चरेशसहित ५ जना पक्राउ परेका छन् ।
गएराति जिल्लाको कैलाश गाउँपालिका-६ दुम्सीखर्क गाउँ स्थित ७६ वर्षीय जित बहादुर मोक्तानको घर र गोठमा खानतलासी गर्दा घरबाट अबैध भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल १ थान र ६ राउण्ड गोली फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनले विशेष सूचनाको आधारमा मोक्तानकै गोठमा खानतलासी गर्दा गोठबाट १ हजार ५१५ किलो गाँजा र १३ किलो चरेश बरामद गरिएको बताए । उनले गोठबाटै गाँजालाई च्याप्ने काठको फर्मा १ थान र तराजु १ थान बरामद गरिएको बताए ।

प्रहरीले उक्त हातहतियार र लागूऔषधसहित ७६ वर्षीय मोक्तानसँगै २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घलेलाई पक्राउ गरेको छ ।

उनीहरुलाई गएरातिनै हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया