बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS : राष्ट्रपति चुनावको सरगर्मी बढ्दा गठबन्धन जोगाउन र फुटाउन प्रतिस्पर्धा

दैनिक नेपाल २०७९ फागुन ११ गते २१:१३

काठमाडौं, ११ फागुन । राष्ट्रपति निर्वाचनका लागि मनोनयनको दिन नजिकिदै जाँदा राजनीतिक दल र नेताहरूमा सरगर्मी बढेको छ ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर वर्तमान सत्ता गठबन्धन भत्काउने खेल तीव्र बनेको छ । साथै गठबन्धन जोगाउन नेकपा एमालेलगायत दलहरूले पनि आ–आफ्नो प्रयास जारी राखेका छन् ।

गठबन्धन जोगाउने र भत्काउनेबीच तीव्र प्रतिस्पर्धा चलिरहँदा नेकपा व्युँताउने नयाँ प्रस्ताव पनि राजनीतिक वृत्तमा उठ्न थालेको छ । यसले पुन: कम्युनिष्ट एकताको सङ्केत पनि उजागर गरेको छ ।

यस्तै चक्रपथ विस्तारका सम्पूर्ण समस्या समाधान गरिएको र अब तीव्र रुपले विस्तारको काम अगाडि बढ्ने उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठकोको अभिव्यक्तिले काठमाडौंबासीलाई आशाको सञ्चार गराएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

१. प्रचण्डले कांग्रेसलाई समर्थन गर्दैनन् : राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई समर्थन नगर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाबी, प्रचण्ड प्रधानमन्त्री बन्ने र राष्ट्रपतिमा एमालेको उम्मेदवार जिताउने पुस १० को सहमतिबाट माओवादी पछि नहट्ने विश्वास व्यक्त ।

२. निस्किएन निष्कर्ष : सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीचको बैठक निष्कर्षविहीन, भोलि काँग्रेससहित चार दलको बैठक पुन: बस्ने ।

३. खेलाडीलाई पुरस्कार : आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा, खेलाडीकै कारण देशको गौरव र प्रतिष्ठा बढेको भनाइ ।

४. अध्यक्ष नेपाल र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच भेट : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता, राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल ।

५. राजीनामा स्वीकृत : जन्म मिति विवादमा परेपछि राजीनामा दिएका नेपाल प्रहरीका नायव महानिरीक्षक डीआईजी आशोक सिंहको राजीनामा स्वीकृत, सिंहविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानबिन सुरु ।

६. अर्थमन्त्री पौडेल भारत प्रस्थान : जी–२० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान, सम्मेलनका अतिरिक्त भारतलगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम ।

७. एमालेले बोलायो सचिवालय बैठक : नेकपा एमालेले आगामी शनिबारका लागि बोलायो सचिवालय बैठक, राष्ट्रपतिको निर्वाचनलगायत समसामायिक राजनीतिक विषयवस्तुमा छलफल हुने ।

८. नेकपा ब्युँताए म राष्ट्रपति : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष गरे नेकपा ब्युँताउने प्रस्ताव, पार्टी ब्युँतिए मात्रै राष्ट्रपति बन्ने अडान प्रस्तुत ।

९. मैले देशका लागि खेल्न पाउँ : उच्च अदालतको आदेशविरुद्व क्रिकेटर सन्दीप लामिछानेले दिए सर्वोच्च अदालतमा निवेदन, प्रतियोगितामा भाग लिन विदेश जान पाउनुपर्ने माग ।

१०. स्पट फिक्सिङ गर्ने धरौटीमा छुटे : काठमाडौंमा भएको नेपाल टी–ट्वेन्टी लिगमा स्पट फिक्सिङको आरोपमा पक्राउ परेका क्रिकेटर आदिल अन्सारी धरौटी तिरेर रिहा, दुई जना आरोपी अझै फरार रहेको प्रहरीको भनाइ ।

११. चक्रपथ विस्तार अब धमाधम : चक्रपथ विस्तारको काम तीव्र रुपले अघि बढ्ने उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको दाबी, अधिकांश क्षेत्रका साइट खाली गरिनाका साथै उत्पन्न समस्यारू समाधान भइसकेकाले अब तीव्र गतिमा काम अघि बढ्ने विश्वास व्यक्त ।

१२. ओलीले मनाए जन्मदिन : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनाए ७२औं जन्मदिन, नेता, कार्यकर्ता र शुभेच्छुकहरूले बालोकोट नै पुगेर दिए शुभकामना ।

१३. सुनको मूल्य घट्यो : नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो, बिहीबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ र चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार ।

१४. भत्कियो कोइलाखानी : उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रस्थित एक कोइला खानी भत्किदा चार जनाको मृत्यु तथा ४९ जना बेपत्ता, घटनास्थलमा उद्धार कार्य जारी ।

१५. केपी ओली कप सुरू : नेकपा एमालेसम्बद्ध युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनशीप सुरू, फागुन १७ गतेसम्म चल्ने प्रतियोगिता पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरे उद्घाटन ।

प्रतिक्रिया
सम्बन्धित