
काठमाडौं, १० फागुन । राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै जाँदा देशको राजनीति नै उथलपुथल हुने संकेत देखिएको छ ।
सत्ता गठबन्धनभित्रै राष्ट्रपतिका विषयमा कुरा नमिल्दा गठबन्धन बाहिरका दलहरु सक्रिय बनेका छन् । यसैबीच बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा दुई घण्टा छलफल भयो । तर, छलफलमा ठोस निष्कर्ष निस्कन सकेन ।
यस्तै, बुधबार साँझ नै काँग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटार पुगेर प्रचण्डसँग छलफल गरेका छन् । प्रचण्ड र देउवाबीच पुरानै गठबन्धन ब्युँताउने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।
हेरौँ बुधबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-
१. राष्ट्रपति पदका लागि दौडधूप : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा दुई घण्टा लामो वार्ता, बुधबार साँझ नै बालुवाटार पुगेर काँग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रचण्डसँग गरे राष्ट्रपति निर्वाचनकाबारेमा छलफल ।
२. मतदाता नामावाली सार्वजनिक : राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद गरी ८८१ जना मतदाताको नामावली सार्वजनिक, फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदाताको सूचीमा, कारागारमुक्त भएका अरुण चौधरी परेनन् ।
३. सरकारको निर्णयविरुद्व रिट : स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुको जरिवाना मिनाह गर्ने सरकारको निर्णयविरुद्व सर्वोच्च अदालतमा रिट दर्ता, १२ गतेका लागि तोकियो पेशी ।
४. धरौटीमा छोड्न आदेश : स्पट फिक्सिङको आरोपमा पक्राउ परेका मेहबुब आलम, आदिल अन्सारी र अर्का एकजनालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश, तीन/तीन लाख धरौटी बुझाउनुपर्ने ।
५. फस्ने डरले राजीनामा : फरक फरक उमेर विवादमा तानिएपछि नेपाल प्रहरीका नायव महानिरीक्षक आशोक सिंहले दिए राजीनामा, गृहमन्त्रालयबाट स्वीकृत हुन बाँकी ।
६. संसद बैठकमा : प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०७९ संसदमा पेश, सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत ।
७. फेरि तर्साउन थाल्यो : बाजुराको बिछ्यालाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गयो, विद्यालय, स्वास्थ्य चौकी र दुईवटा घरमा क्षति ।
८. ठेकेदार पक्राउ : ठेकेदार मनोकुमार भेटवाल पक्राउ, बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको भनाई ।
९. अब संसदमा जान पाउने : सजाय मिनाह भएर कारागारमुक्त भएका सांसद अरुण चौधरीको निलम्बन फुकुवा, बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गराए निलम्बन फुकुवा भएको जानकारी ।
१०. सांसदका कुरा : गरिबलाई थला पार्ने लघुवित्तलाई कारबाही गर्न काँग्रेस सांसद गगन थापाको संसदमा माग, भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपतिको निर्वाचन अगाडि नेपाल आएर प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेकामा एमाले सांसद रघुजी पन्तको आपत्ति ।
११. प्रहरीको आँखै अगाडिबाट चोरी : सिराहामा प्रहरीको सुरक्षा घेराबाटै नौ लाख रुपैयाँ लुटियो, प्रहरीको हतियारसमेत लुटेरले लुटेर फरार ।
१२. सरकारले लगायो रोक : तत्कालका लागि युएईमा ट्याक्सी तथा मोटरसाइकल चालकको रुपमा काम गर्न जान सरकारले लगायो रोक, न्यूनतम तलब प्राप्त गर्न नसकेको, लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय काम विहीन भई बस्नुपरेको र धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवानामा परेको तथा जेल जीवन नै बिताउनु परेको भनाई ।
१३. स्वास्थ्यमा सुधार हुँदै : ग्यास सिलिण्डर लिक भएर भएको आगलागीमा परी घाइते भएका काँग्रेस सांसद चन्द्रकान्त भण्डारीलाई मुखबाट खान खुवाउन थालियो, दोहोरो कुराकानी गर्न थाले ।
१४. युरोपमा शरण : कोरोना महामारीका कारण जारी गरिएको यात्रा प्रतिबन्ध हटाइएपछि युरोपेली मुलुकमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढ्यो, युरोपेली सङ्घमा दश लाख जनाले दिए आवेदन ।
१५. सन्दीपलाई पनि दुबई लैजान पहल : अदालतको आदेशबाट देश बाहिर जान प्रतिबन्ध लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दुबई भ्रमणमा लैजानका लागि नेपाल क्रिकेट संघ क्यानले थाल्यो पहल, राष्ट्रिय खेलकुद परिषद्लाई पठायो पत्र ।















प्रतिक्रिया