
काठमाडौं, ९ फागुन । घरेलु मैदानमा आयोजना भएको आईसीसी विश्वकप लिग ‘टू’ अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले सिरिजमा क्लिन स्विप गरेको हो ।
स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । जितसँगै नेपाली टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन् ।
हेरौँ दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-
१. नेपालको क्लिन स्वीप : आइसीसी विश्वकप क्रिकेट लिग ‘टू’ मा नेपालको क्लिन स्वीप, अन्तिम खेलमा नेपालसँग स्कटल्याण्ड २ विकेटले पराजित, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिए बधाई ।
२. राष्ट्रपति बन्ने रहर : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई, राष्ट्रपतिमा आफूलाई सहयोग गर्न महन्थको प्रचण्डलाई प्रस्ताव ।
३. राजनीतिको कोर्स परिवर्तन हुने संकेत ? : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका नेता किसान श्रेष्ठबीच भेटवार्ता, राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा छलफल ।
४. नेपाल फर्काउने प्रतिवद्वता : विगत दुई वर्षदेखि साउदी अरबको जेलमा रहेका धनकुटा जिल्लाको चौबिसे गाउँपालिका–४ का दिनेश कार्कीलाई नेपाल फर्काउन पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिबद्वता, ट्राफिक नियम उल्लंघन गरेको कसुरमा जेल परेका थिए कार्की ।
५. नयाँ राष्ट्रपतिकै चर्चा : पावर सेयरिङमा नेकपा (एकीकृत समाजवादी) को भूमिका हुनुपर्ने अध्यक्ष माधवकुमार नेपालको भनाइ, राष्ट्रपतिमा आफ्नो धेरै चर्चा भएको भन्दै यसबारेमा टुंगो नलागेको स्पष्टोक्ति ।
६. स्वास्थ्यमा सुधार हुँदै : ग्यास सिलिण्डर लिक भएर भएको आगलागीमा परी घाइते भएका काँग्रेस सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार, प्यारामिटर सामान्य, पहिलो पटक गरे दोहोरो कुराकानी ।
७. डा. रुइत सम्मानित : वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले बहराइनका राजा हमाद बिन इसा अल खालिफाबाट पाए १४ करोडको इशा पुरस्कार, डा. रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेका भनाइ ।
८. जहाजमा समस्या देखिएपछि… : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि आज उड्न लागेको सौर्य एयरलाइन्सको एसएयू ७२१ जहाजमा समस्या देखिएपछि उडान स्थगित, इन्डिकेटरले समस्या देखाएको तर के समस्या यकिन नभएको विमानस्थलको भनाई ।
९. किशोरी बलात्कृत : काठमाडौंको स्वयम्भुस्थित कारखाना चोकमा १७ वर्षीया किशोरी बलात्कृत, बलात्कार आरोपमा धादिङ गंगाजमुना गाउँपालिका–९ का ३४ वर्षीय सुरज अधिकारी पक्राउ ।
१०. शकुसल भेट्टिउन : पश्चिम नवलपरासीस्थित गण्डक नहरमा २९ वर्षीया प्रतिमा थारुले ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित हाम फालिन्, खोजी कार्य जारी ।
११. राइडरहरुलाई सजिलो : राइड सेयरिङ सेवा दिनेहरुले मोटरसाइकलमा मोबाइल होल्डर र हेल्मेट क्यामेरा राख्न पाउने, मोबाइल होल्डर र हेल्मेट क्यामेरा राख्न दिन उच्च अदालत पाटनको आदेश ।
१२. गैंडाले लियो ज्यान : चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु, मृत्यु हुनेमा रत्ननगर–९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ ।
१३. खेलौना सम्झेर खेलाउँदा… : जंगलमा भेटिएको विष्फोटक पदार्थ खेलाउँदा विष्फोट भएर पोखरा महानगरपालिका–३३ मा दुई बालक घाइते, घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ ।
१४. नेपालीहरुको बाध्यता : गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि लिए श्रम स्वीकृति, श्रम स्वीकृति लिनेमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला ।
१५. फेरि अर्को शक्तिशाली भूकम्प : टर्किएमा सोमबार पुन: शक्तिशाली भूकम्प, दक्षिणी शहर एन्टाक्यालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी थप ६ जनाको मृत्यु ।















प्रतिक्रिया