२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्धदेखि दुर्गाले पार्टी छोडेकोसम्म

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति नजिकिदै जाँदा नतिजा आफ्नो पोल्टामा पार्न दाबेदार दलहरूले रस्साकस्सी बढाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत संवैधानिक पद राष्ट्रपतिमा आफ्नो उपस्थिति खोजेपछि वर्तमान सत्ता गठबन्धन नै धरापमा परेको चर्चा हुन थालेको छ । यसै सन्दर्भमा दलहरू वाकयुद्धमा समेत उत्रिएका छन् । फलस्वरूप राष्ट्रपतिमा आ–आफ्नो उम्मेदवार विजयी हुने दाबी उनीहरूले गरिरहेका छन् ।

यस्तै, आज ७३औँ प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै दिवस मनाइएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

१. मनाइयो प्रजातन्त्र दिवस : विभिन्न कार्यक्रम गरी ७३औँ प्रजातन्त्र दिवस मनाइयो, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले दिए शुभकामना ।

२. सरकार प्रेस स्वतन्त्रतामा प्रतिबद्व : वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रतामा प्रतिवद्व रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, विश्वमा सूचना र प्रविधिको द्रूत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्नेमा जोड ।

३. राष्ट्रपति एमालेबाटै : नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी, मनोनयन दर्ता गर्ने दिनमै राष्ट्रपति उम्मेदवारको नाम सार्वजनिक गर्ने भनाइ ।

४. पूर्वराजाको चेतावनी : नेपालको निरन्तर अधोगतिप्रति मौन बस्न नसक्ने पूर्वराजा ज्ञानेन्द्र शाहको चेतावनी, देशको दीर्घकालीन शान्ति, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको टिप्पणी ।

५. दल दर्ता आह्वान : चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान, फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न सकिने ।

६. गठबन्धन धरापमा परिसक्यो : गठबन्धन धराममा परिसकेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाई, संविधान विरोधी, गणतन्त्र विरोधी लगाएत सबै शक्तिहरू गठबन्धनमा रहेकाले गठबन्धन धेरै टिक्ने संकेत नदेखिएको भनाइ ।

७. पार्टी परित्याग : व्यवसायी दुर्गा प्रसाईँद्वारा नेकपा एमाले पार्टी परित्याग, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा राजावादी गतिविधिमा संलग्न ।

८. सांसद छुटे जेलबाट : कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद अरुण चौधरी जेल मुक्त, प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै भए रिहा ।

९. भारतले थप विद्युत् लैजाने : ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत, एक सय ३२ केभी तथा सोभन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट वर्षायाममा नेपालबाट भारतको बिहार राज्यमा विद्युत् निर्यात गर्न आवश्यक संयन्त्र बनाउने ।

१०. समाजवादीको मुख्य मक्सद : समाजवादी कार्यदिशा पूरा गर्नु पार्टीको मुख्य मक्सद भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालको भनाइ, समाजवादी कार्यदिशा पूरा गर्नकै लागि आफ्नो दल विद्रोहको बाटोमा हिँडेको जिकिर ।

११. लुटपाट गर्ने थप एकजना पक्राउ : यातायात मजदुरको आन्दोलनका क्रममा काठमाडौंको नयाँ बर्सपार्कस्थित ल्होत्से मलमा लुटपाट र प्रहरीको गाडीमा आगजनी गर्ने ४६ जना पक्राउ, अन्य संलग्नको खोजी जारी ।

१२. बस दुर्घटना : कास्कीको पोखरामा लेकसाइड ताल्चोकबाट पोखरा आउँदै गरेको ग १ ख ४७६७ नम्बरको यात्रुवाहक बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना, ४० जना घाइते ।

१३. बढ्यो सुनको मूल्य : नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा सत सयले बढ्यो, छापावाल सुन प्रतितोला एक लाख तीन हजार २००, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार ७०० र चाँदी प्रतितोला एक हजार २९० रूपैयाँमा कारोबार ।

१४. क्षेप्यास्त्रमा परी १५ जनाको मृत्यु : इजरायलद्वारा सिरियामा क्षेप्यास्त्र प्रहार, १५ जनाको मृत्यु ।

१५. खेलाडीलाई पुरस्कृत गरिँदै : काठमाडौंमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप ‘लिग–टु’अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा लगातार तेस्रो जित निकाल्ने नेपाली क्रिकेट टोलीलाई पुरस्कृत गरिने, खेलाडीहरूलाई प्रोत्साहित गर्न पुरस्कृत गर्ने घोषणा गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई ।