
काठमाडौं, ६ फागुन । आज शनिबार मुलुकमा खास महत्वपूर्ण घटनाक्रमहरू भएनन्, तर महाशिवरात्रि पर्व र सेना दिवस समेत आजै परेकाले यी विषयमा समाचार सामग्रीहरूले दिनभर सञ्चारमाध्यमहरू भरिभराउ रहे ।
सँगसँगै साँझपख पूर्वराजा ज्ञानेन्द्र शाहले भोलि प्रजातन्त्र दिवसका अवसरलाई लक्षित गरी जारी गरेको सन्देशले देशकै ध्यान केन्द्रित गर्यो । प्रजातन्त्र दिवसको शुभकामनाका लागि जारी गरिएको सन्देशमा राजनीतिक र सामाजिक सन्देशहरू समेत समावेश गरेपछि मुलुक नै तरङ्गित भएका छन् ।
उनले सन्देशमार्फत भनेका छन्, ‘नेपाल एकीकरणको झन्डै २४० वर्षपछि हामीबाट शासकीय सत्तारूपी जनताको नासो जनतालाई नै बुझाएका थियौं । विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमुलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको छ ।’ उल्लेखित वस्थालाई अब आफूहरू हेरेमात्रै बस्ने पक्षमा नरहेको सङ्केतसहित जारी भएको सन्देश निकै अर्थपूर्ण बनेको छ ।
त्यसो त पछिल्लो समय राजसंस्था ब्युँताउन विभिन्न प्रपञ्चहरू पनि भइरहेको चर्चा सुनिन थालेको छ । यो सन्दर्भमा पूर्वराजाको अभिव्यक्ति झनै खतरनाक सावित हुने विश्लेषण गर्न थालिएको छ ।
हेरौँ दिनभरका अन्य घटनाक्रमहरूका मुख्य–मुख्य हेडलाइनहरू–
१. मनाइयो शिवरात्रि : हिन्दू धर्मावलम्बीहरूको विशेष चाड महाशिवरात्रि पर्व मनाइयो, आराध्यदेव पशुपतिनाथसहित देशभरका शिवालयहरूमा दर्शनार्थीको घुइँचो, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन जारी ।
२. पशुपतिमा राष्ट्रपति : महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा अर्चना, राष्ट्रप्रमुखले पशुपतिको दर्शन गर्ने परम्परा अनुसार पूजाअर्चना गरिएको राष्ट्रपति कार्यालयको भनाइ ।
३. नेपाली सेनाद्वारा विश्वकीर्तिमान : नेपाली सेनाले विशेष समारोह आयोजना गरी विभिन्न कलाकौशल प्रदर्शन गर्दै मनायो महाशिवरात्री तथा सेना दिवस, एकैपटक ५५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर कायम गर्यो विश्व कीर्तिमान ।
४. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधा : भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, पाइपबाट खाना खुवाउन थालियो ।
५. गठबन्धन भत्काउन विदेशी शक्ति : नेपाली माटोबाटै निर्माण भएको वर्तमान सत्ता गठबन्धन भत्काउन विदेशी शक्ति लागिपरेको नेकपा एमालेका सचिव योगेश भट्टराईको दाबी, राष्ट्रपतिमा एमालेकै उम्मेदवार विजयी बन्ने धारणा व्यक्त ।
६. पूर्वराजा ज्ञानेन्द्रको आह्वान : देश जोगाउन दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वान, देश अधोगतिमा जान लागेकाले सहकार्यको आवश्यकता रहेको भनाइ ।
७. विभेदमा परेकाहरूको आत्मसम्मान बढाऔँ : नेपाली समाजलाई सद्भावयुक्त बनाउन भेदभावमा परेका समुदायको आत्मसम्मानस्वरूप भेदभावयुक्त समाजको अन्त्य गर्नुपर्नेमा एमाले सांसद छविलाल विश्वकर्माको भनाइ, विभेदकै कारण मानिस मारिने गरेकोप्रति चिन्ता व्यक्त ।
८. प्रधानमन्त्रीसँग बिमलेन्द्रको भेट : प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेका नेता विमलेन्द्र निधिबीच भेटवार्ता, निधीले कालीगण्डकीको शिला भारतको अयोध्यामा हस्तान्तरण गरेकोबारे जानकारी गराएको सचिवालयको भनाइ ।
९. जरिवानाबाट जोगिए उम्मेदवार : निर्वाचन आयोगले निर्वाचन खर्चमाथि लगाएको जरिवाना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मिनाहा, एक लाख भन्दा बढी उम्मेदवारहरूलाई राहत ।
१०. लुटपाट मच्चाउनेमाथि अनुसन्धान सुरू : लोत्से मल तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजनीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेर थाल्यो अनुसन्धान, मुलुकी अपराधसंहिता (ऐन), २०७४ को परिच्छेद २० को कसुर आकर्षित ।
११. वीरमा ‘बर्न वार्ड’ सुचारू गरिदै : वीर अस्पतालमा तीन महिनाभित्र ‘बर्न वार्ड’ सञ्चालनमा ल्याइने नवनियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलको उद्घोष, २०७२ को भूकम्पले भवन भत्किएर रोकिएको सेवा अस्पतालको नयाँ भवनबाट सुचारू गरिदै ।
१२. ग्यास सिलिण्डर विक्रीमा रोक : बाँकेमा गुणस्तरहीन ग्यास सिलिण्डर बिक्रीवितरण गर्न रोक लगाइयो, ग्यास पड्किएर हुने घटना बढेपछि सतर्कताका लागि बाँके तीव्र पारियो बजार अनुगमन ।
१३. दुर्घटनामा गयो ज्यान : डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते, केआईसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीद्वारा जानकारी ।
१४. १३ दिनपछि जीवितै उद्धार : टर्कीमा भूकम्प गएको १३ दिनपछि तीन जनाको जीवितै उद्धार, एक जनाको अस्पताल लाँदै गर्दा मृत्यु ।
१५. नेपालको सानदार जित : आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई दोस्रोपटक पनि पराजित गर्यो, जितसँगै नेपालले जोड्यो २७ खेलबाट २४ अंक ।















प्रतिक्रिया