
काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार पनि लामो छलफल भएको छ ।
अध्यक्ष ओलीसँग छलफलका लागि प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । आजको छलफलको मुख्य विषय पनि राष्ट्रपति टुंगो लगाउने नै थियो ।
आजको बैठकले पनि दुई नेतालाई निश्चित सहमतिमा पुर्याउन सकेन । छलफलबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले एक दुई दिनमा राष्ट्रपतिको टुंगो लाग्ने बताए । प्रचण्डले राष्ट्रपतिको विषयले गठबन्धन नभत्किने भन्दै गठबन्धन कायम नै रहने दाबी गरे ।
हेरौँ शुक्रबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-
१. कहिले बन्छ सहमति ? : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा दुई घण्टा बढी छलफल, एक दुई दिनमै राष्ट्रपतिको टुंगो लाग्ने प्रधानमन्त्री प्रचण्डको भनाइ ।
२. शिघ्र स्वास्थ्य लाभको कामना : ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएका काँग्रेस सांसद चन्द्रकान्त भण्डारीको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार जारी, पहिलो चरणमा दुईवटा खुट्टाको शल्यक्रिया सफल ।
३. मन्त्रिपरिषद् बैठकको निर्णय : पृथ्वी जयन्ती र जनयुद्द दिवसको बिदा क्यालेन्डरमै समावेश गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई फिर्ता लिने ।
४. प्रधानमन्त्री राष्ट्रिय जनमोर्चाका नेताहरुसँग : राष्ट्रियता रक्षाका निम्ति प्रतिबद्व रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, राष्ट्रिय जनमोर्चाका नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर बुझाए ज्ञापनपत्र ।
५. प्रधानमन्त्री र राजदूतको भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्रान्सका राजदूत गिल्स बुर्बाओबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल ।
६. आइपुगे पूर्व सेना प्रमुख : नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन चार जना भारतीय पूर्व सेना प्रमुख काठमाडौं आइपुगे, विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग आइपुगे, पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भोलि आउने ।
७. अनेरास्ववियुले पायो नयाँ नेतृत्व : नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी ।
८. मिसन ग्रासरुट : एमालेले आजबाट सुरु गर्यो मिसन ग्रासरुट अभियान, अध्यक्ष ओलीले गरे भर्चुअल रुपमा शुभारम्भ ।
९. उपप्रधानमन्त्री पौडेलको भनाइ : देश, जनता, विकास र समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ, विचार, सङ्गठन सुदृढीकरण तथा विस्तारमा पार्टी पुन:गठन गर्ने उद्देश्यसहित एमालेले ‘मिसन ग्रासरुट’ अभियान अघि बढाएको भनाइ ।
१०. व्यवस्थाप्रति नै खतरा : संसद्मा रहेका दलहरुबाटै अहिलेको शासन व्यवस्थामाथि खतरा बढेर गएको सभामुख देवराज घिमिरेको भनाई, नेकपा एमालेकै केन्द्रीय सदस्य दुर्गा प्रसाईँले मुलुकमा राजतन्त्र चाहिन्छ’ भनेर मेची–महाकाली अभियान गरिरहेकोप्रति आपत्ति ।
११. राजनीतिक स्वार्थका लागि जेलमुक्त : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई जेलमुक्त गराउने सरकारको प्रयास, बाँकी सजाय मिनाहको माग गर्दै सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस ।
१२. सुरक्षा चुनौती बढ्दो : देशमा सुरक्षा चुनौती बढ्दै गएको प्रधानसेनापती प्रभुराम शर्माको भनाइ, आइपर्न सक्ने जस्तोसुकै परिस्थितिको कुशलतापूर्वक सामना गर्न सकलदर्जाले पेशागत ज्ञान, सीप र बन्दोवस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरुस्त बनाउनुपर्नेमा जोड ।
१३. लुटपाट गर्ने थप एकजना पक्राउ : यातायात मजदुरको आन्दोलनका क्रममा काठमाडौंको नयाँ बर्सपार्कस्थित ल्होत्से मलमा लुटपाट गर्ने थप एकजना पक्राउ, पक्राउ पर्नेमा नुवाकोट सूर्यगढी गाउँपालिका–४ बारपाटेका २९ वर्षीय सरोज पौडेल ।
१४. अझै सास खोज्दै : टर्की र सिरियामा भूकम्पमा परेर हालसम्म ४४ हजार भन्दा धेरैको मृत्यु, टर्कीमा १० दिनपछि दुईजना पुरुषको सकुशल उद्दार ।
१५. नेपालको शानदार जित : काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले स्कटल्याण्डलाई तीन विकेटले हरायो, जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो लक्ष्य ।















प्रतिक्रिया