२८ आश्विन २०८३, बुधबार

राष्ट्रपतिमा अत्तो थापेर ५ वर्ष सरकारको नेतृत्व गर्ने माओवादी दाउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै गर्दा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने कार्यकालमा बार्गेनिङ गर्न थालेको छ । राष्ट्रिय सहमतिका नाममा माओवादी केन्द्रले साढे दुई वर्षभन्दा बढी समय सरकारको नेतृत्व गर्न पाउनुपर्ने गरी अघोषित सर्तनामा राखेर बार्गेनिङ गर्न थालेको हो ।

पुस १० गते पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउँदा एमालेलाई राष्ट्रपति दिने सहमति गरे पनि माओवादी केन्द्रले राष्ट्रिय सहमतिका नाममा अत्तो थापेर एमालेलाई अप्ठेरोमा पार्न खोजेको छ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको फागुन २५ लाई तय गरेको छ। राष्ट्रपति निर्वाचनका लागि माओवादी निर्णायक शक्तिका रूपमा देखिएको छ ।

यसै विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच बिहीबार बिहान दुई घन्टा कुराकानी भयो । त्यसक्रममा दाहालले एमालेले सरकारलाई पूर्णतः सहयोग गर्नुपर्ने र राष्ट्रपतिमा साझा उम्मेदवार खोजिनुपर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लम्ब्याउन चाहेको स्पष्ट आभास हुन थालेको एमाले नेताहरूको बुझाइ छ । ‘सरकारलाई सहयोग गर्ने, यो सरकारमा एमाले पनि छ भन्ने अनुभूत गराउने र जनताका कामलाई सरकारले ध्यान दिनुपर्ने विषयलाई एमालेले आत्मसात् गरेको छ । तर प्रधानमन्त्रीले सरकारका कामलाई साथ दिनुपर्ने वा सहयोग गर्नुपर्ने कुरा कसरी उठाउनुभएको हो, त्यो बुझ्न सकिएन,’ एमाले एक पदाधिकारीले भने ।

 वर्तमान सरकार नै पाँच वर्ष चलोस् भन्ने दाहालको मनशाय छ । ‘दाहालले सरकारलाई पूर्णतः सहयोग गर्नुपर्‍यो भनेकै यही सरकारको निरन्तरता होस् भन्ने मनशाय देखियो,’ एमालेका ती पदाधिकारीले भने, ‘यसमा अहिले नै एमालेले यही भन्ने र गर्ने अवस्था छैन, अवस्था सहज बने यही सरकारको निरन्तरता पनि असम्भव छैन।’

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले एमालेबाहेकका उम्मेदवारमा सहमति जुटे राम्रो हुने धारणा राखेका थिए । तर ओलीले पुस १० को सहमतिबारे कुरा उठाएपछि प्रधानमन्त्री दाहालले पनि सरकारलाई पूर्ण सहयोग गर्नुपर्ने धारणा राखेको स्रोतको दाबी छ । ‘दुई नेताबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको थियो । सहमतिमै उम्मेदवार टुंग्याउने कुराकानी भएको छ । दुई नेताहरूले सहमति गर्नुहुनेछ,’ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले भने । उनका अनुसार एमालेले सरकारलाई पूर्णतः सघाउनुपर्ने भन्ने दाहालको भनाइमा ओलीले सरकार आफूहरूले बनाएका कारण असहयोग गर्नुपर्ने कुनै कारण नरहेको भन्दै राष्ट्रपतिमा पुस १० को सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

‘सहयोग आदानप्रदानकै विषयमा कुराकानी भयो, यसमा पछिल्लो समय उत्पन्न भएका केही विषयलाई पनि राख्ने काम भयो,’ गजुरेलले भने । राष्ट्रपतिमा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्न नहुने पक्षबाट पनि छलफल सुरु भएको छ । विगतमा कांग्रेसका तर्फबाट रामवरण यादव राष्ट्रपति हुँदा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई असहयोग भएको थियो । बहुमतको सरकार हुँदाहुँदै सरकारबाट राजीनामा दिएर बाहिर निस्कन दाहाललाई बाध्य पारिएको थियो ।

त्यो विषयलाई पनि माओवादी केन्द्रका नेताहरूले भुल्न नहुने बताइरहेका छन् । साथै मंसिर ४ को निर्वाचनमा माओवादी केन्द्रले टिकट लिएको स्थानमा कांग्रेसका सबै मत माओवादीलाई आउन नसकेको तर माओवादीको सबै मत कांग्रेसलाई गएको भनेर पनि चर्चा गरिएको छ । यस्तो अवस्थामा आफूहरूलाई घाटा र कांग्रेसलाई फाइदा भएको विषयलाई पनि छुटाउन नहुने भनेर माओवादी केन्द्रका भित्र विश्लेषण हुन थालेको छ ।

निर्वाचनपछि कांग्रेसले माओवादीलाई सरकारबाहिर राख्न खोजेपछि बाध्य भएर एमालेको साथ लिनुपरेको र अहिलेसम्म एमालेले सहमति कार्यान्वयन गरेको कोणबाट छलफल गरेर भविष्यमा सहमति कार्यान्वयनको वातावरण बनाउनेतर्फ लाग्नुपर्ने भनी छलफल सुरु भएको माओवादीका एक नेताको दाबी छ ।

‘विगतमा भएका धेरै विषयमा हामीले समीक्षा गर्नुपर्छ, कांग्रेससँगको सम्बन्धले पार्टीलाई ठुलो होइन सानो बनाएको छ । धेरै तहबाट धोका पाएका छौं । कांग्रेससँगको सहकार्यलाई लिएर पार्टीका हरेक तहले गाली गरेका छन् । त्यसको समीक्षा हुनु जरुरी छ,’ माओवादीका एक पदाधिकारीले भने, ‘आजको सहकार्य मात्र होइन, भोलिका दिनमा वाम गठबन्धनको विषय पनि उत्तिकै उठेको छ । एमालेलाई बाहिर राखेर वाम गठबन्धनको कुरा गर्नु सान्दर्भिक देखिँदैन । त्यसकारण राष्ट्रिपतिको विषयमा दुवै पार्टीलाई मान्य हुनेगरी समझदारी गर्नुपर्छ ।’

राष्ट्रपति निर्वाचनपछि माओवादी केन्द्रको नेतृत्वमा सरकार रहन्न कि भन्ने संशयले पनि एमालेसँग बार्गेनिङ गरिरहेको बताइएको छ । एमालेले ढुक्कसँग सहमति कार्यान्वयन हुन भनेर माओवादी केन्द्रलाई आश्वस्त पार्न खोजिरहेको छ । यही अवस्थामा सुर्खेत पुगेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पुस १० मा भएको सहमतिलाई कार्यान्वयन गरेर अघि बढ्ने बताएका छन् । ओली र दाहाल बालुवाटारमा छलफल गरिरहेका बेला श्रेष्ठले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

बालुवाटारमा ओली र दाहालबीच अहिलेको सरकार ढाल्न विभिन्न षड्यन्त्र भइरहेको र त्यसबाट दुई पार्टी बच्नुपर्ने धारणामा सहमत भएका थिए । ओलीले राष्ट्रपतिको विषय उठान गरेर वर्तमान सरकार ढाल्न षड्यन्त्र भएको बताउँदा दाहालले आफू त्यसतर्फ सचेत रहेको र षडयन्त्रबाट बचाएर सरकार सञ्चालन गर्न तयार रहेको बताएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।