२८ आश्विन २०८३, बुधबार

पानी उद्योगको अन्धाधुन्ध दोहन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । उपत्यकाका अधिकांश ठाउँमा २० वर्ष पहिला कुलो, कुवा र पोखरीमा पानी भरिएको देख्न सकिन्थ्यो । भूमिगत पानीको अत्याधिक दोहनका कारण पानीको स्रोत सुकेका छन् भने पोखरी हिटी सुख्खा देखिन थालेको छ । यो समस्या अब आउने दिनमा अझै विकराल बन्ने विज्ञले बताएका छन् ।

पानी व्यापारका नाममा उद्योगले भूमिगत पानीको अत्यधिक दोहन गर्दा उपत्यकाको अधिकांश ठाउँमा कलकल बग्ने कुलो, पोखरी, हिटीमार्फत पानीको वैज्ञानिक प्रणालीमा पुर्खाले गरेको विकास अहिले नासिँदै जान थालेका छन् । ‘अहिले तिनै पोखरीमा जाने हो भने पानी भण्डार देखिँदैन, सुख्खा देखिन्छन्, काठमाडौं महानगरपालिका ५ का विष्णुमान मानन्धरले भने, ‘हाम्रो बाजेदेखि हाम्रो पुर्खासम्मले देखेको पोखरी अहिले एकाएक सुकेको छ ।’

उनको अनुभवमा पछिल्लो १० वर्षमा त भूमिगत पानी पनि मुस्किलले आउन थालेको छ । जमिनमुनि पहिलो तहमा पानी सकिएर ‘स्यालो ट्यूबवेल’ काम नलाग्ने भएपछि अहिले व्यावसायिक रूपमा पानी बेच्नेले डिप बोरिङमार्फत दोहन तीव्र भएको छ । यो अवस्था भोलिका दिनमा अझै बढ्ने देखिन्छ । सरकारले नियमन नगर्ने र खानेपानीको निर्देशिकाअनुसार चल्दा भोलिको दिन अझै भयावह हुने अवस्था छ ।

विष्णुमान मात्रै होइन ललितपुर महानगरपालिका–३ का विराजमान शाक्यको अनुभव पनि उस्तै छ । १० वर्षअघिसम्म कलकल बग्ने धारा र कुवा अहिले सुक्खा देखिन थालेको छ । व्यावसायिक प्रयोजनका लागि उद्योगले डिप बोरिङ गर्दा पानीको संकट देखिन थालेको उनले बताए । ‘उद्योगहरूले डिप बोरिङ नगर्दा पर्याप्त मात्रामा पानी पुग्थ्यो,’ उनले भने, अहिले त्यही पानी पनि उद्योगसँग महँगो मूल्यमा किनेर खान बाध्य भएका छौं,’ उनले भने, ‘हाम्रा सम्पदा मासिने हो कि भन्ने चिन्ता छ ।’ सरकारले नियमन नगर्ने हो भने भावी पुस्ताका लागि हिटी र धारा एकादेशको कथा बन्ने उनको भनाइ छ ।

व्यावसायिक प्रयोजनका नाममा भूमिगत पानीको अत्यधिक दोहन गर्न दिँदा अहिले यो समस्या उपत्यकामा बिकराल रूपमा देखिँदै आएको छ । उपत्यकामा प्रणालीगत पानीको स्रोतमा ध्यान नजाँदा २० हजार रुपैयाँ तिरेर पानी उद्योग कम्पनीले वर्षभरिमा करोडौं कमाइरहेका छन् । ती उद्योगले सरकारकै सहयोगमा भूमिगत पानीको दोहन गरिरहेका छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तथ्यांकअनुसार काठमाडौंमा अहिले अनुमति लिएका ट्युबवेल÷डिप बोरिङको संख्या ४ सय १९ वटा छन् । १ सय ३३ अनुमति लिने प्रक्रियामा छन् । आजको राजधानी दैनिकमा खबर छ ।