
काठमाडौं, ३ फागुन । नयाँ सरकार बनेपछि पहिलोपटक भारतीय विदेश सचिवको हैसियतमा नेपाल आएका विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग औपचारिक भेटवार्ता गरे पनि ‘भारत भ्रमण’को निम्तो भने दिएनन् ।
नेपालमा आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनले सरकार फेरबदल हुने आशंकाबीच भारतले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निमन्त्रणा नदिएको हो । ‘भोलिको राजनीतिक परिदृश्य के हुन्छ ?’ त्यो हेरेर मात्रै भारतले प्रचण्डलाई भ्रमण निम्तो दिने संकेत देखाएको छ । राष्ट्रपति विषयलाई लिएर अहिले सत्तारूढ गठबन्धन दल र प्रमुख विपक्षी नेपाली कांग्रेसबीचको टकराव भइरहेकै बेला भारत ‘यो सरकार कति दिन टिक्छ ?’ भनेर आंकलन नगरी प्रचण्डलाई भारत भ्रमणको निम्तो दिन चाहँदैन ।
दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव क्वात्रा विदेश सचिवस्तरीय बैठकमा आएको भनिए पनि उनी सोमबार र मंगलबार राजनीतिक भेटघाटमा व्यस्त भए । क्वात्रा नेपाल भ्रमणमा आउँदा ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा सन्देश बोकेर आउँछन्’ भन्ने आँकलन थियो । तर, विदेश सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग औपचारिक छलफल गरे र दुई पक्षीय हित विषयमा मात्रै कुरा गरे । भ्रमण विषयमा उचित वातावरण तय भएपछि मिति तय हुने भारतीय पक्षले जनाएको छ ।
त्यसो त, प्रधानमन्त्री प्रचण्ड नियुक्तिलगतै भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने बताएका थिए । प्रचण्डले प्रधानमन्त्री नियुक्तिलगत्तै आफ्नो पहिलो राजनीतिक भ्रमण भारतबाट हुने बताउनुले पनि भारतीय पक्ष ढुक्क छ । यसअघि प्रचण्डले सन् २००८ मा प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण चीनतर्फ गरेका थिए । त्यसपछि ‘भारत रिसाएको’ भन्दै आफ्नो राजनीतिक भ्रमण भारतबाटै हुने बताएका थिए ।
अहिले पनि दाहालले पहिलो भ्रमण भारतबाटै हुने प्रतिबद्धता जनाएका छन् । भारतसँग पहिलो भ्रमण नगर्दा राजनीतिक रूपमा अप्ठ्यारो पर्नसक्ने र सत्ता समीकरण बदलिन सक्ने भय कारण पनि नेपालबाट अधिकांश प्रधानमन्त्रीले भारत भ्रमण गर्ने गरेका छन् । नजिकको छिमेकी मुलुक र त्यसमा पनि खुला सीमा रहेको भारतसँगको सम्बन्ध सुधार हुन नसके राजनीतिक अप्ठ्यारो पर्नसक्ने भयका कारण पनि हरेक सरकार गठन भएलगतै भारतले पहिलो भ्रमणको निमन्त्रणा दिने गरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।













प्रतिक्रिया