शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: सरकार र यातायात मजदुरबीचको वार्तादेखि सन्दीपको पुनरागमनसम्म

दैनिक नेपाल २०७९ फागुन २ गते २१:२३

काठमाडौं, २ फागुन । सोमबार काठमाडौंमा यातायात मजदुरको आन्दोलनपछि मंगलबार बिहानै सरकार र यातायात मजदुरबीच वार्ता भएको छ ।

वार्तामा यातायात मजदुरको माग पूरा गर्न सरकार तयार भएसँगै मजदुरहरुले तत्कालका लागि आन्दोलन स्थगित गरिएको छ ।

यसैबीच सोमबार आन्दोलनकाबीचमा नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट गर्नेलाई प्रहरीले खोजी गरिरहेको छ । आन्दोलनका क्रममा मौका छोपी केही समूह व्यक्तिले ल्होत्से मलमा तोडफोड गरी मोबाइल पसलमा छिरेर मोबाइल लगायतका सामान लुटेर लगेका थिए ।

व्यवसायीहरुले करिब ८ करोडको मोबाइलहरु चोरी भएको बताएका छन् । प्रहरीले हालसम्म चार जनालाई लुटिएको मोबाइलसहित पक्राउ गरेको छ ।

हेरौँ मंगलबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. सरकारलाई साथ चाहियो : लघु घरेलु र साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई, मुलुकको अर्थतन्त्रलाई ट्रयाकमा ल्यान खोजिएको भन्दै सबैको साथ आवश्यक रहेकोमा जोड ।

२. यातायात मजदुर आए सहमतिमा : सरकार र यातायात मजदुरबीच मंगलबार बिहान पाँच बुँदे सहमति, तत्कालका लागि यातायात मजदुरको आन्दोलन स्थगित ।

३. डीएसपीलाई जिम्मेवारीबाट हटाइयो : सोमबार नयाँ बसपार्कमा भएको यातायात मजदुरको आन्दोलनलाई संयमित बनाउन नसकेको भन्दै बालाजु वृत्तका डीएसपी रविन बिष्टलाई जिम्मेवारीबाट हटाइयो, विष्टलाई रानीपोखरीमा तानेर बालाजुमा डीएसपी मनोजित कुँवरलाई पठाइयो ।

४. लुटेरालाई पक्राउ गर : सोमबार काठमाडौंको नयाँ बसपार्कमा यातायात मजदूरको आन्दोलनका क्रममा ल्होत्से मलमा लुटपाट गर्नेलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन, लुटिएका मोबाइलसहित हालसम्म चारजना पक्राउ ।

५. देशलाई बर्बाद बनाउने क्रियाशिल : देश बर्बाद पार्न अनेक देश भित्र र बाहिरका शक्तिहरु ीक्रयाशिल रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, सबैभन्दा पहिला एमालेमाथि नै प्रहार हुन सक्ने आशंका व्यक्त ।

६. प्रधानमन्त्री र विशेषदूतबीच भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूत सुङ मिन जङबीच बालुवाटारमा भेटवार्ता, द्विदेशीय सम्बन्ध र सहयोगका विषयमा छलफल ।

७. राजसंस्थाप्रति लक्षित : इतिहास बनिसकेको राजसंस्था ब्युताउँन अझै पनि प्रयास भइरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलको भनाइ, मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई फेरि ब्युँताउने प्रयत्न सफल नहुने विश्वास व्यक्त ।

८. महाअभियोग नयाँ संसदमा जाने : अघिल्लो संसदबाट नटुंगिएको महाअभियोग प्रस्ताव नयाँ संसदमा लैजान सांसदहरु सहमत, राष्ट्रपति र उपराष्ट्रपतिलाई महाअभियोग लागेमा तीन महिनाभित्र तथा संवैधानिक प्रमुख वा सदस्यको महाभियोग प्रस्ताव पाँच महिनाभित्र टुङ्गो लगाउनुपर्ने ।

९. रोकियो आन्दोलन : बेपत्ता बाँकेकी निर्मला कुर्मीको न्यायको लागि आन्दोलनरत पक्ष र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित गर्न आन्दोलनरत पक्ष सहमत ।

१०. बजेट संशोधन गरिएको छैन : बजेट संशोधन गरेको नभई, संशोधित अनुमान गरिएको अर्थमन्त्री विष्णु पौडेलको भनाइ, बजेट कटौतीको हल्ला निराधार रहेको स्पष्टोक्ति ।

११. म्याद थप : चुनावमा पार्टीभित्र भएको अन्तर्घातबारे छानबिन गर्न जनता समाजवादी पार्टीले थप्यो म्याद, छानबिनका लागि फागुन १५ गतेसम्मका लागि म्याद दिइयो ।

१२. क्षतिपूर्ति चाहिन्छ : सोमबार आन्दोलनका क्रममा ८ करोड बराबरको मोबाइल लुटिएको ल्होत्से मलका मोबाइल व्यापारीको दाबी, सरकारले क्षतिपूर्ति दिनुपर्ने माग ।

१३. भूकम्पले दिएको पीडा : टर्कीए र सिरियामा भूकम्पमा परी हालसम्म ३६ हजारभन्दा धेरै मानिसको मृत्यु, सिरियाको विद्रोही–नियन्त्रित भागहरूमा अन्तर्राष्ट्रिय सहायता पुग्न ढिलाइ ।

१४. फर्किए सन्दीप : काठमाडौंमा जारी विश्वकप लिग–२ अन्तर्गत नेपाल र नामिबियाबीचको खेलबाट ६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामिछानेको पुनरागमन, दोस्रो बलमै विकेट लिएपछि बने भावुक ।

१५. नेपालको कीर्तिमानी जित : काठमाडौंमा जारी विश्वकप लिग–२ अन्तर्गत नेपाल र नामिबियाबीचको खेलमा नेपालको कीर्तिमानी विजयी, नामिबिया तीन विकेटले पराजित ।

प्रतिक्रिया
सम्बन्धित