शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

‘लभ इज इन दि इयर’ मा कवि बसन्त चौधरी (भिडिओसहित)

दैनिक नेपाल २०७९ फागुन २ गते २०:३०

काठमाडौं, २ फागुन । प्रेमको प्रतीक गुलाबको फूलको ब्याच लगाएका दर्शक । अधिकांश प्रेमिल रंगको पोसाकमा सजिएका छन् । खचाखच भरिएको काठमाडौंको मण्डला थिएटरभित्रको शीतल वातावरण, रंगहरुको कलात्मक समायोजन र फूलहरूको सजावटले अझ प्रेमिल बनेको पल मानौँ हलमा उपस्थित सबै प्रेम गर्न आएका हुन्, प्रेमको परिभाषा खोज्न आएका हुन् अनि आपसमा प्रेम साट्न आएका हुन् ।

गुलाबी रातो र कालो रंगको पोसाकमा सजिएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीको आगमनसँगै हलमा हुटिङ सुरु भयो । कलात्मक सजावटले चिटिक्क परेको स्टेजमा दिइएको मन्द प्रकाशमा फिस्स हाँस्दै सुरु भयो चौधरीको बहुप्रतिक्षित एकल कविता वाचन ‘कवितासँग बसन्त’ ।

स्वास्थ्य समस्या लगायतका कारण झण्डै साढे ३ वर्षको निष्क्रिय जीवनलाई चिरेर पुन: सक्रिय बनेका चौधरीले विभिन्न २० देशमा प्रस्तुत गरेका विश्व काव्य यात्राकै शैलीमा यस पटकको प्रणय दिवसलाई विशेष र रोमाञ्चक बनाए ।

‘लभ इज इन दि इयर’को थिम दिइएको एकल कविता वाचन कार्यक्रमका क्रममा चौधरी आफ्ना प्रिय दर्शक तथा प्रशंसकसँग एकघण्टा पोखिए । सो क्रममा उनले एक दर्जन बढी कविता, मुक्तक र गजल सुनाए । सबै रचना प्रेम, प्रेमिका र प्रेमिल सम्बन्ध लगायतसँग सम्बन्धित थिए ।

चौधरीका कविता समकालीन मनुष्यका सुखदु:ख, हास्य एवम् रोदन अर्थात् प्रेमानूभूतिसँग सम्बन्धित हुन्छन् । उनले कवितामा प्रयोग गर्ने बिम्ब र प्रतीक अनौठा हुने गरेका छन् । यस्तै विशेषता यस पटकको प्रणय दिवसमा प्रस्तुत रचनाहरूमा समेत झल्कियो ।

सो क्रममा कवि चौधरीले आफू कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसारको रचना गर्न चाहेको बताए । ‘आँसु, हाँसो, सुखदुख जस्ता भावनात्मक रहरबाट नै कविता जन्मिन्छ । म चाहन्छु, मेरो कविता नदीको शीतल प्रवाहसरी शान्त होस् । पहराबाट छुटेको छहरा सरी गतिमय पनि ।’ उनले भने–‘जब मेरा भावनाहरूले शब्द उच्चारण गर्छन् । अनि वास्तवमा मलाई सुखको अनुभूति हुन्छ । साँच्चै भन्ने हो भने कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसार रचना गर्न चाहन्छु ।’

समर्थनमा दर्शकदिर्घाबाट पर्रर ताली बज्यो । सो क्रममा कवि चौधरीले आफूले सुरु गरी हाल रोकिएको प्रतिष्ठित विश्व काव्य यात्राको पुन: थालनी गरिने उद्घोष समेत गरे ।

सो अवसरमा कवि चौधरीलाई सुन्न मण्डला थिएटर पुगेका करिब डेढसय जनाले उनका दुई वटा पुस्तक ‘मेरा गीत’(गीतहरूको सङ्ग्रह) तथा ‘जीवन मन्त्र–२’(सुक्ति सङ्ग्रह)को सामूहिक लोकार्पण समेत गरेका थिए ।

बसन्त चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका लागि स्थापित नाम हो ।

नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सशक्त सिर्जनाहरु सार्वजनिक गरिसकेका छन् । केही समयअघि उनका ८५ वटा कविताहरूको सङ्ग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो । यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन् ।

त्यसअघि हिन्दी काव्य सङ्ग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो । ‘मेघा’देखि ‘तिमीबिनाको म’सम्म उनका एक दर्जन कृतिहरू प्रकाशित छन् ।

प्रतिक्रिया
सम्बन्धित