शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ २८ गते २१:३४

काठमाडौं, २८ माघ । शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा दिवा भोज आयोजना गरेकी थिइन् ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सांसदहरु लगाएत राजनीतिक दलको नेताहरुको सहभागीता रहेको थियो ।

भण्डारीले आफ्नो कार्यकाल सकिन केही दिन मात्रै बाँकी रहँदा सांसदहरुलाई बधाई ज्ञापन गर्न भोज आयोजना गरेकी हुन् ।

यसैबीच राष्ट्रपति भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन आह्वान गरेकी छिन् ।

हेरौँ शनिबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. भ्रष्टाचार नियन्त्रणमा सबै जुटौँ : भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन राष्ट्रपति विद्यादेवी भण्डारीलेको आह्वान, राजनीतिक नेतृत्व, आयोग र प्रशासनिक नेतृत्वको साङ्गठनिक एवम् एकताबद्ध प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने भनाइ ।

२. शीतलनिवासमा दिवा भोज : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्का नवनिर्वाचन सांसद्लाई बधाई तथा शुभकामना दिन शीतलनिवासमा दिवा भोज आयोजना, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत पूर्वप्रधानमन्त्रीहरू सहभागी ।

३. अब सरकार निर्मम बन्छ : भ्रष्टाचारविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने प्रधानमान्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चेतावनी, मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको भनाइ ।

४. एमालेलाई रोक्न राष्ट्रिय सहमतिको वहस : राष्ट्रपतिमा एमालेका उम्मेद्वारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको आरोप, कांग्रेसकै कारण राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले भोट हाल्छ कि हाल्दैन भन्ने आशंका पैदा भएको भनाइ ।

५. डाक्टर कुट्ने प्रहरी निलम्बित : राष्ट्रपतिको सवारीको क्रममा चिकित्सकलाई कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भुजंग गुरुङ निलम्बित, राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने कार्यविधि बनाउनुपर्नेमा कांग्रेस महामन्त्री गगन थापाको जोड ।

६. जसरी प्रधानमन्त्री त्यसरी नै राष्ट्रपति : जुन सहमतिका आधारमा प्रचण्ड प्रधानमन्त्री बने त्यसैगरी एमालेका उम्मेदवार राष्ट्रपति बन्नुपर्ने नेकपा एमालेका सचिव योगेश भट्टराईको धारणा, वर्तमान गठबन्धन कायम रहेसम्म सहमतिबाट खण्डित हुनुपर्ने अवस्था नरहेको भनाइ ।

७. अझै मुख्यमन्त्रीकै सुविधामा राजेन्द्र : प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अझै फिर्ता गरेनन् प्रदेश सरकारको गाडी, प्रदेशका प्रमुख सचिवमार्फत गाडी फिर्ता ल्याउन पहल भइरहेको जानकारी ।

८. राष्ट्रियताको रक्षामा जुटौँ : राष्ट्रियतामाथि चौतर्फी प्रहार भइरहेकाले रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न विद्यार्थीहरूलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको आग्रह, शैक्षिक प्रमाणपत्र प्राप्त गरिरहँदा टेक्ने देश रहेन भने प्रमाणपत्रको कुनै अर्थ नरहने धारणा व्यक्त ।

९. राजनीतिक व्यक्ति नै भावी राष्ट्रपति : राष्ट्रपतिको गरिमा थाम्न सक्ने व्यक्तित्व राजनीतिबाहिर नरहेको नेकपा एसका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको भनाइ, राजनीतिक व्यक्तित्वलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्नेमा जोड ।

१०. पत्रकार महासंघका पूर्वध्यक्षहरू एकैठाउँ : नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूले गरे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् निवर्तमान गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिको विरोध, सञ्चारमाध्यममाथि गरिएको टिप्पणी सामान्य नभएको निष्कर्ष ।

११. सांसदको पारिश्रमिक विद्यालयलाई : नेकपा एमालेका सांसद सूर्य थापाद्वारा आफ्नो पहिलो महिनाको पारिश्रमिक अमर माध्यमिक विद्यालयलाई दिने घोषणा, पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछिको रकम विद्यालयलाई दिइने ।

१२. विश्वासको मतको खोजी सुरू : विश्वासको मतका लागि रेशम चौधरी छुटाउने आश्वासनको पोको बोकेर घरमै पुगे सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाह, चोधरीकी आमा र परिवारका अन्य सदस्यसँग भेटघाट गरेर फर्किए ।

१३. मेलाको तयारी पूरा : आगामी मङ्गलबारदेखि राजधानीमा आयोजना हुने ‘१६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’को सम्पूर्ण तयारी पूरा, फागुन ६ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना हुँदै ।

१४. भूकम्पले लियो हजारौँको ज्यान : टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार १६५ जनाको मृत्यु पुष्टि, टर्कीएमा २० हजार ६८५ जना तथा सिरियामा तीन हजार ५०० जनाले गुमाए ज्यान ।

१५. फुटबल प्रतियोगिता सुरू : पाँचौँ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता हेटौंडामा सुरू, ७ वटा ‘ए’ डिभिजन र एउटा अन्तर्राष्ट्रिय क्लबसहित १२ वटा टीमको सहभागिता ।

प्रतिक्रिया
सम्बन्धित