शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ २७ गते २२:२२

काठमाडौं, २७ माघ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेकी छिन् ।

राष्ट्रपतिको कार्यकाल सकिन केही दिन बाँकी रहँदा उनले संसदलाई सम्बोधन गरेकी हुन् । यसैबीच, शुक्रबार बिहान उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ ।

बैठकमा राष्ट्रपतिको निर्वाचन, मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको छ । बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सहभागी भएको थियो । बैठकमा पार्टी सभापति रवि लामिछाने सहभागी भएका हुन् ।

हेरौँ शुक्रबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. राष्ट्रपतिको सम्बोधन : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदका संयुक्त बैठकलाई सम्बोधन, अब विकास र समृद्धितर्फ ध्यान केन्द्रित हुनुपर्नेमा जोड ।

२. उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : शुक्रबार बिहान उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्यो, राष्ट्रपतिको निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल ।

३. फेरि आउनुस् सरकारमा : सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी, पुन सरकारमा सहभागी हुन सभापति रवि लामिछानेलाई शीर्ष नेताको आग्रह ।

४. हाम्रै मान्छे राष्ट्रपति : एमालेले रोजेकै व्यक्ति राष्ट्रपति हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाबी, सुदूरपश्चिम प्रदेश सरकार ढल्नुको परिणाम देखिँदै जाने प्रतिक्रिया ।

५. सहयोग गर्न महन्थलाई ओलीको आग्रह : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच ओली निवास बालकोटमा भेटवार्ता, ओलीले मागे राष्ट्रपतिको लागि सहयोग ।

६. नयाँ मुख्यमन्त्रीको काम सुरु : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले लिए पद तथा गोपनीयताको सपथ, प्रदेश प्रमुख देवचन्द्र जोशीबाट सपथ लिएसँगै गरे पदभार ग्रहण ।

७. प्रदेश मन्त्रिपरिषद् विस्तार : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहद्वारा दुई सदस्यीय मन्त्रिरिषद् विस्तार, नेपाली काँग्रेसका प्रकाश देउवा भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा (एकीकृत समाजवादी) पार्टीका नरेश शाही बने आन्तरिक मामिला तथा कानुन मन्त्री ।

८. राष्ट्रिय सभा सदस्यले लिए सपथ : नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गराए सपथ ।

९. घुस डील गर्ने महाप्रवन्धक बर्खास्त : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक निलम्बित, थाई स्माइल एयरलाइन्ससँग घुस मागेको प्रमाण फेला परेपछि निलम्बन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको भनाइ ।

१०. निम्तो बोकेर आउँदै : भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउँदै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो बोकेर आउन लागेको जानकारी ।

११. आरोप लागे पनि सांसद : फौजदारी आरोप लागेका सांसदको अन्तिम फैसला नभएसम्म सांसद पद खारेज नगर्ने प्रतिनिधि सभा नियमावाली मस्यौदा समितिको निर्णय, मुद्दामा दोषी ठहर गरेको अवस्थामा मात्रै सांसद पद निलम्वन गरिने व्यवस्था मस्यौदामा प्रश्ताव ।

१२. प्रहरीद्वारा चिकित्सकमाथि कुटपिट : राष्ट्रपतिको सवारीका बेला सडकमा हिँडेको भन्दै काठमाडौंस्थित ट्रमा सेन्टरका चिकित्सकहरुमाथि प्रहरीद्वारा कुटपिट, कारबाहीको माग गर्दैै चिकित्सकहरु आन्दोलित ।

१३. मौद्रिक नीतिको समिक्षा : राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक, व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी पुर्नसंरचना तथा पुर्नतालिकीकरण गर्न पाउने व्यवस्था ।

१४. भूकम्पको पीडा : भूकम्पमा परेर टर्की र सिरियामा हालसम्मा २२ हजार भन्दा धेरै मानिसको मृत्यु, चिसोका कारण पीडितहरुको अवस्था कष्टकर ।

१५. सन्दीपको कम ब्याक : नेपाल क्रिकेट संघ क्यानद्वारा घरेलु मैदानमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डविरुद्ध खेल्ने १४ सदस्य टोलीको घोषणा, सन्दीप लामिछाने पनि परे टीममा ।

प्रतिक्रिया
सम्बन्धित