शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ २५ गते २१:१०

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार पनि भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । प्रचण्ड र ओलीबीच विशेषत राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको थियो ।

दुई शीर्ष नेताबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।

हेरौँ बुधबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. निरन्तर भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता, बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति ।

२. देउवा कसरी प्रमुख प्रतिपक्षी दलको प्रमुख नेता ? : काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिने संसद सचिवालयको निर्णयविरुद्व परेको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी, दुवै पक्षलाई बहसका लागि पनि डाकियो ।

३. विपदमा सहयोग : विनाशकारी भूकम्पको चपेटामा परेको टर्कीमा मेडिकल टीम र स्वास्थ्य सामग्री पठाउने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को निर्णय, नेपाललाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको र टर्की सरकारको दुखमा नेपालले सहयोग गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ ।

४. विश्वासको मत दिन्नौँ : सुदूरपश्चि प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीको निर्णय, सुदूरपश्चिम प्रदेश सरकार धरापमा ।

५. सरकार ढल्ने डर : नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै बुधबारको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित, बैठक बिहीबार दिउँसो १ बजे बस्ने ।

६. डीएनए मिलेन : कञ्चरपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा पुन सुरु गरिएको अनुसन्धानले प्रगति गर्न सकेन, तीन जनाको डीएनए लिएकामा तीनैजनाको रिपोर्ट नेगेटिभ ।

७. दसौदी राष्ट्रिय सभा सदस्य : लुम्बिनी राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट नेकपा एमालेका कुमार दसौदी निर्वाचित, नेपाली काँग्रेसका माधव आचार्य पराजित ।

८. पार्टी सदस्यता त्याग : राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालद्वारा पार्टी सदस्यता परित्याग, आफू आवद्ध रहेको दल माओवादी केन्द्रको पार्टी सदस्यता र राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा ।

९. जितको आश : राष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई हराउने नेपाली काँग्रेसका महामन्त्री गगन थापाको दाबी, एमालेको एम्मेदवारले राष्ट्रपति जिते संविधान खतरामा पर्ने टिप्पणी ।

१०. देशभर प्रदर्शन गर्ने : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशभर विरोध प्रदर्शन गर्ने, एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणकाविरुद्ध संघर्ष गर्न लागिएको भनाइ ।

११. बीमा रकम भुक्तान : काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको जीवन बीमा बापतको ५० लाख रुपैँया भुक्तानी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ५० लाख १२ हजार १ सय ९४ रुपैँयाको चेक आचार्यकी श्रीमती नानुकलालाई हस्तान्तरण ।

१३. बढ्यो सुनको मूल्य : नेपाली बजारमा बुधबार सुनको मूल्य तोलाको दुई सयले बढ्यो, छापावाल सुन प्रतितोला १ लाख चार हजार आठसय, तेजावी सुन प्रतितोला १ लाख चार हजार तीनसय र चाँदी प्रतितोला १३ सय १५ रुपैँयामा कारोबार ।

१३. घट्यो नेप्से : मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार घट्यो, नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १८ अङ्कमा कायम ।

१४. भूकम्पको पीडा : भूकम्पमा परेर टर्की र सिरियामा हालसम्मा ११ हजारभन्दा धेरैको मृत्यु, दशौँ हजार मानिस घाइते, हजारौँ भवन ध्वस्त ।

१५. खेलाडी घाइते : केएनपी नेरोलेक छैटौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत मंगलबारको फाइनल खेलमा नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना घाइते, अवस्था सामान्य ।

प्रतिक्रिया
सम्बन्धित