आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ २२ गते २३:३३

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरे पनि सरकारमाथिको समर्थन भने कायमै राख्ने निर्णय गरेको छ ।

यसैबीच, पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

हेरौँ आइतबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. बाहिरियो रास्वपा : राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो, सरकारमाथिको समर्थन भने कायम राख्ने निर्णय ।

२. तीन मन्त्रीले दिए राजीनामा : राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाए राजीनामा, राजीनामा दिनेमा श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की ।

३. एकतालाई जोगाउनुपर्छ : गठबन्धनको एकतालाई जसरी पनि जोगाउनु पर्छ भन्नेमा आफू रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेर छलफल गर्ने भनाइ ।

४. काँग्रेसलाई ओलीको चेतावनी : राष्ट्रपति निर्वाचनमा किचलो खडा गर्ने काँग्रेसको दुराशय देखिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, अनिश्चय र अस्थिरताको बिउ रोप्न खोजे कांग्रेसका लागि प्रत्युपादक हुन सक्ने धारणा ।

५. प्रचण्ड र विप्लवबीच भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता, पछिल्लो राजनीतिक घटनाक्रम र आगामी परिस्थितिका बारेमा कुराकानी ।

६. अर्याल उपाध्यक्ष उम्मेदवार : राष्ट्रिय सभाको उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्यालले दर्ता गरिन् उम्मेदवारी, निर्विरोध निर्वाचित हुने सम्भावना ।

७. एमालेको बैठक बस्दै : नेकपा एमालेको सचिवालय बैठक माघ २६ गते र केन्द्रीय कमिटीको पाँचौं बैठक माघ २९ र फागुन १ गते बस्ने, मंसिर ४ गतेको चुनावी समीक्षा र राष्ट्रपतिको निर्वाचनको रणनीति तयार गर्न बैठक बस्न लागिएको भनाइ ।

८. अर्को वर्ष महाधिवेशन : २०८० सालको फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने नेकपा एकीकृत समाजवादी पार्टीको निर्णय, शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी संगठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने भनाइ ।

९. सर्वोच्च अदालतको आदेश : टीकापुर हत्याकाण्डका मुख्य दोषी ठहर भएका पूर्व सांसद रेशम चौधरीको मुद्दामा दुवै पक्षलाई झिकाउन सर्वोच्च अदालतको आदेश, अब पुन: बहस तथा सुनुवाइ हुने ।

१०. स्वत सांसद बनाउन माग : रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आफूलाई स्वत निर्वाचित घोषणा गर्न काँग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको माग, निर्वाचन आयोगले आफ्नो पक्षमा निर्णय नगरे अदालत जाने चेतावनी ।

११. घट्यो सुनको मूल्य : नेपाली बजारमा आइतबार एकैदिन सुनको मूल्य तोलामा २ हजारले घट्यो, छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय, तेजावी सुन १ लाख ३ हजार ६ सय र चाँदी प्रतितोला १३ सय २० रुपैँयामा कारोबार ।

१२. हुण्डी कारोबारी पक्राउ : ७८ लाख ५० हजारसहित हुण्डी कारोबारी पक्राउ, पक्राउ पर्नेमा कैलालीका किशोर चौधरी र दीपेन्द्रबहादुर मल्ल ।

१३. पहिलो पटक सफलता : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण, बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको सफल रुपमा मिर्गौला प्रत्यारोपण ।

१४. हिमपहिरोमा मृत्यु : अष्ट्रियामा हिमपहिरोमा परी ८ जनाको मृत्यु, तीव्र हिमपात र हावा चलेका कारण विशेष सावधानी अपनाउन आग्रह ।

१५. नापोलीको जित : इटालियन सिरी ए फुटबलमा लिग लिडर नापोलीको सहज जित, स्पेजिया ३–० गोल अन्तरले पराजित ।

प्रतिक्रिया
सम्बन्धित