
काठमाडौं, २२ माघ । नेकपा एमालेका उपाध्यक्ष एवम् नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारी अस्पतालहरूमा पत्रकारहरूको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्थालाई कार्यान्वयनमा ल्याइने बताएका छन् ।
प्रेस चौतारी नेपालको २५औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले श्रमजीवी पत्रकारको पक्षमा विगतको एमाले नेतृत्वको सरकारले अघि बढाएका योजनाहरूलाई अब अगाडि बढाइने बताएका हुन् ।
यस्तै उनले अनलाइन सञ्चार माध्यमका लागि लोक कल्याणकारी विज्ञापन यसअघि आफू नै अर्थमन्त्री हुँदा बजेमा समेटिएकाले आगामी बजेटबाट कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘तपाइँहरुको जुन सरोकार र माग छ, त्यसप्रति सरकार सम्वेदनशील छ,’ अर्थमन्त्री पौडेलले भने, ‘लोककल्याणकारी बिज्ञापन अनलाइनलाई वितरण गर्ने काम चाँडै लागू गरिन्छ, त्यसका लागि जेठ १५ को प्रतिक्षा गर्नुहोला ।’
अर्थमन्त्री पौडेलले विगतमा गरिएको पत्रकार दुर्घटना बीमा एउटा गतिलो उदाहरण भएको भन्दै यस्को प्रभावकारी कार्यान्वयन गर्न सरकार दृढतापूर्वक लाग्ने बताए । दुर्घटना बीमाको ५० प्रतिशत प्रिमियम सरकारले बेहोर्ने आफ्नो पालाको निर्णय भएको उनको भनाइ थियो ।
अर्थमन्त्री पौडेलले पत्रकारको मागप्रति सरकार सकारात्मक रहेको भन्दै तत्काल पूरा गर्न सकिने माग तत्कालै र केही समय लिने माग समयक्रममै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।















प्रतिक्रिया