आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ १९ गते २२:०१

काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने आशंकाले बिहीबार दिनभर राष्ट्रिय राजनीतिक तरंगित भयो ।

पार्टी सभापति रवि लामिछाने र पार्टीका नेताहरुको अभिव्यक्तिबाट धरैले पार्टी सरकारबाट बाहिरिने आँकलन गरेका थिए । तर साँझ बसेको केन्द्रीय समिति र सचिवालयको संयुक्त बैठकले तत्काल सरकार नछोड्ने निर्णय गर्‍यो ।

४ घण्टा लामो छलफलले थप २ दिन कुर्ने निर्णय गरेको हो । बैठककैबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ दिन कुर्न आग्रह गरेपछि सरकार छोड्ने निर्णयबाट पछाडि हटेको राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ ।

हेरौँ बिहीबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. ब्याक भयो रास्वपा : राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा २ दिन कुर्ने निर्णय ।

२. आत्मदाहको प्रयास : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्याय दिनुपर्ने माग गर्दै एक युवकद्वारा आत्मदाहको प्रयास, आत्मदाह प्रयास गर्नेमा ४० वर्षीय गोकर्ण कार्की ।

३. समस्या आयो : सत्ता गठबन्धनमा समस्या आएको माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्थायी कमिटी बैठकमा ब्रिफिङ, भोलि दिउँसो २ बजे पुन स्थायी कमिटी बैठक बस्ने ।

४. अध्यक्ष ओलीको आरोप : अदालतको परमादेशपछि बनेको सरकारका कारण अर्थतन्त्र डामाडोल बनेको आरोप एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, पुस १० गते यताको सवा महिनामा देशको अर्थतन्त्रमा सुधार गएको दाबी ।

५. सांसद पक्राउ : नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सांसद अरुणकुमार चौधरी पक्राउ, २०६६ सालमा एक व्यक्तिको ट्याक्टरमा आगजनी गरेको आरोप ।

६. नेकपा एसको निर्णय : सरकारबारे केन्द्रीय कमिटी बैठकबाट निर्णय गर्ने नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णय, केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल भएको र परिमार्जन गरी प्रस्तुत गरिने ।

७. मन्त्रीको निर्देशन : कोरोना भाइरसविरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन स्वास्थ्यमन्त्री पदम गिरीको निर्देशन, भोलिका दिनमा कतै खरिद प्रक्रियाका सन्दर्भमा प्रश्न उठे स्वयम् जवाफदेही हुनुपर्ने भनाइ ।

८. सन्दीप फेरि जालन् जेल ? : सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको निर्णयविरुद्व महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको रिटको सुनुवाई शुक्रबार हुने, धरौटीमा छोड्ने निर्णय बदर गर्न माग ।

९. बालिकाको मृत्यु भएपछि…. : काभ्रेको नमोबुद्वमा बसको ठक्करबाट ८ वर्षीया बालिका दिबिसा अधिकारीको मृत्यु, स्थानीयद्वारा ठक्कर दिने बा २ ख ७३४२ नम्बरको बसमा आगजनी ।

१०. जन्मकैदको फैसला सदर : ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको आरोप लागेका पुष्कर गौतमलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्च अदालतबाट पनि सदर, २०५५ साल असार १० गते माओवादी कार्यकर्ताबाट भएको थियो श्रेष्ठको हत्या ।

११. एसपीहरुको सरुवा : नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा, अनुपम श्रेष्ठ जिल्ला प्रहरी कार्यालय गोरखामा, तनहुँमा अवदेश विष्ट क्षेत्री, कञचनपुरमा कमल थापा ।

१२. फरार कैदी पक्राउ : धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका ६ थुनुवामध्ये थप एकजना पक्राउ, पक्राउ पर्नेमा लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मा ।

१३. सुनको मूल्यका नयाँ रेकर्ड : नेपाल बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च कायम, छापावाल सुन १ लाख ७ हजार ५ सय, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार र चाँदी प्रतितोला १३ सय ९५ रुपैँयामा कारोबार ।

१४. युक्रेनमा रुसको निरन्तर आक्रमण : बिहीबार पूर्वी युक्रेनको एक अपार्टमेन्टमा रुसी आक्रमण, रकेट प्रहारबाट कम्तीमा तीन जनाको मृत्यु, २० जना घाइते ।

१५. सन्दीपको कमब्याक : क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टीममा फर्किए, भोलिबाट बन्द प्रशिक्षणमा बोलाइयो ।

प्रतिक्रिया
सम्बन्धित