२८ आश्विन २०८३, बुधबार

खेर जाँदै ४० लाख ‘डोज’ खोप

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज (बुस्टर) खोप ल्याउने तयारी गर्दै गर्दा भण्डार गरी राखिएको ४० लाख डोज खोप भने खेर जाने अवस्थामा पुगेको छ ।

पहिलो, दोस्रो र तेस्रो डोज खोप लगाइसकेका नागरिकलाई चौथो डोज दिनेगरी सरकारले पहिलो र दोस्रो चरणमा गरी ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गर्दै गर्दा पहिल्यै ल्याइएका ४० लाख डोज साइनोभ्याक खेर जाने अवस्थामा पुगेको हो ।

त्यस्तै, ३ लाखभन्दा बढी डोज भेरोसिल खोपसमेत स्टक छ । देशका सातै प्रदेशसहित विभागको कोल्डस्टोरमा ४३ लाख ८८ हजार ६ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागको तथ्यांक छ । त्यसमध्ये साइनोभ्याक मात्रै ४० लाख डोज छ । त्यसबाहेक अन्य भेरोसिल खोप मौज्दात छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले ४० लाख डोज साइनोभ्याक र बाँकी भेरोसिल खोप विभागको कोल्ड स्टोरहरूमा स्टक रहेको जानकारी दिए । विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा प्रयोग गर्न अनुमति दिएको छैन । तर, भेरोसिल भने पहिलो र दोस्रो डोज लगाउन केही जनसंख्या बाँकी रहेकाले लगाउन मिल्ने विभागको बुझाइ छ । साइनोभ्याक खोप भने स्वास्थ्य मन्त्रालयले विशेष निर्णय नगरे खेर जान सक्छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका महानिर्देशक सर्वेश शर्मा विभागअन्तर्गतका कोल्डस्टोरमा स्टक खोपको म्याद २०२३ डिसेम्बरसम्म रहेको र त्यसअघि नै सरकारले विशेष निर्णय गर्नुपर्नेमा जोड दिन्छन् । ‘४० लाख साइनोभ्याक र बाँकी भेरोसिल गरी ४३ लाख बढी डोज खोप हामीसँग स्टक छ, ती खोपको उपभोग्य म्याद डिसेम्बर २०२३ सम्म छ, जुन अहलेसम्म नेपालमा बुस्टर डोजका रूपमा लगाउन अनुमति छैन,’ शर्माले भने, ‘भेरोसिल भने पहिलो र दोस्रो डोज लगाउन छुटेकामा प्रयोग गर्न सकिन्छ, ४० लाख साइनोभ्याक विषयमा के गर्ने ? भन्ने’ स्वास्थ्य मन्त्रालयकै तहबाट निर्णय हुनुपर्ने देखिएको छ ।’

आपूर्ति व्यवस्थापन शाखाका प्रमुख चौरसियाका अनुसार सरकारले नै स्टक खोप निर्णय लिनुपर्छ । ‘हामीले स्टक रहेको खोपलाई बुस्टर डोजमा प्रयोग गर्न सक्दैनौं, ती खोपका विषयमा के गर्ने भन्ने निर्णय सरकारबाटै हुन्छ होला, छलफल भइरहेको छ,’ चौरसियाले भने ।

५ देखि १२ वर्षसम्मका बालबालिकालाई समेत गरी नेपालमा हालसम्म ५ करोड ७२ लाख ६४ हजार २ सय १ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायको तथ्यांक छ । बुस्टर डोजका लागि तत्कालै खोप दिन सरकारसँग खोप नभए पनि परिवार कल्याण महाशाखाले चौथो डोज खोप दिने निर्णय भने गत २० कात्तिकमै गरेको थियो । आजको राजधानी दैनिकमा खबर छ ।