शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

शहीदले देखाएको सपना राजनीतिक स्वतन्त्रता, देशको समृद्धि र जनताको सुख हो

केपी शर्मा ओली २०७९ माघ १६ गते २२:१८

केपी शर्मा ओली

शहीद दिवस २०७९ का अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

जहानियाँ राणा शासन बिरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ सालमा नेपाल आमाका वीर सपूतहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुभएको थियो । बलिदानको त्यही गाथालाई हामीले शहीद सप्ताहका रुपमा मनाउने गरेका छौं । र, सोही सङ्घर्षको भावभूमिबाट जनसङ्घर्षको ज्वार उठेर २००७ सालमा एक सय चार वर्ष लामो जहानियाँ राणा शासन अन्त्य भएको थियो ।

त्यसयता जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदहरूको बलिदानमार्फत हामीले सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेका छौं ।

यतिबेला हामी शहीदहरूको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक ब्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा छौं । सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयन मार्फत् मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्र हामी शहीदले देखाएको मार्ग अनुशरण गर्न सक्छौं ।

शहीदहरूले देखेको सपनाकको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि हो । देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि हामी राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको दूरगामी यात्रालाई पुन: अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौं । अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्त गर्दै पुन: सुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ नेकपा (एमाले) ले अग्रसरता लिएको छ ।

नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न चाहन्छ । लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहन्छ ।

जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउनु पर्छ । यसका लागि लोकतान्त्रिक अभ्यास ब्यक्ति र समुहहरूका निजी दुराकांक्षाको पूर्तिमा आधारित नभएर सुस्थिर राजनीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको उद्देश्यमा केन्द्रित हुनुपर्छ । अमर शहीदहरूको बलिदानीले हामीलाई गरेको मार्गदर्शन पनि यही हो ।

अन्त्यमा, शहीद दिवसका अवसरमा समाज र राष्ट्रको हितमा निस्वार्थ रुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना सहित लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने अमर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

(शहीद दिवस २०७९ का अवसरमा सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी सन्देश ।)

प्रतिक्रिया
सम्बन्धित