आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

नेपालमा अमेरिकी उपविदेशमन्त्री नुल्याण्डको दौडधूप ! (भिडिओ)

दैनिक नेपाल २०७९ माघ १६ गते २१:४२

काठमाडौं, १६ माघ । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालका प्रधानमन्त्री, मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् ।

दुई दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएकी उनले आज सोमबार बिहानदेखि नै भेटघाट र छलफललाई तीव्र पारेकी हुन् । उपविदेशमन्त्री नुल्यान्डले सोमबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरिन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

त्यसलगत्तै उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री विमला राई पौडेलसँग छुट्टाछुट्टै भेट गरेकी छिन् । प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक उच्चस्तरीय भ्रमणका लागि नेपाल आएकी उनले नेपाल ओर्लिएसँगै आफ्नो दौडधूपलाई तीव्र पारेकी हुन् ।

त्यसो त पछिल्लो केही वर्षयता अमेरिकाको चासो नेपालमा गहिरिँदै गएको छ । नेपालको राजनीतिक मामिलामा चीन र भारतले प्रत्यक्ष रुपमा हस्तक्षेप गर्ने प्रयास गरिरहेका बेला अमेरिकाले आफ्नो उपस्थिति नेपालमा बाक्लो बनाउँदै गएको छ । नेपालको राजनीतिमा अमेरिका पनि हस्तक्षेपकारी भूमिकामै प्रस्तुत भइरहेको पाइन्छ ।

त्यसमाथि मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लागू गर्ने रणनीतिबाट पनि अमेरिकाले नेपालमाथि चासो र हस्तक्षेप बढाएको आँकलन सहजै गर्न सकिन्छ ।

पुँजीवाद, लोकतन्त्र, स्वतन्त्रता र बहुदलीय व्यवस्थाको पहरेदार मानिएको विश्वको एकल शक्ति अमेरिकाको अर्थतन्त्र र सैन्य शक्तिका अगाडि ठूलो चुनौती बनिरहेको चीनलाई नजिकैबाट नियाल्न नेपाल उपयुक्त भएकाले पनि अमेरिका नेपालसँग अनेक बहानामा नजिक हुन खोजिरहेको आँकलन गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित