
काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुन: उपप्रधान तथा गृहमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् ।
आज आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी सभापति लामिछानेले संविधानको धारा ७८ को व्यवस्था अनुसार आफूलाई गृहमन्त्री नियुक्त गर्न आग्रह गरेका हुन् । तर, प्रधानमन्त्री प्रचण्डले लामिछानेको आग्रहको कुनै वास्ता नगरेको स्रोतले बताएको छ ।
संविधानको धारा ७८ मा गैरसांसदलाई समेत ६ महिनाका लागि मन्त्री नियुक्त गर्न सकिने व्यवस्था छ । सोही व्यवस्था अनुसार आफूलाई मन्त्री नियुक्त गर्न लामिछानेको अनुरोध थियो, तर प्रधानमन्त्री दाहालले उनको अनुरोधको कुनै वास्ता गरेका छैनन् । सत्तासाझेदार अन्य दल र केही नेताहरूसँग परामर्श नगरी निर्णय दिन नसक्ने भन्दै प्रधानमन्त्री पन्छिएको स्रोतको दाबी छ ।
अहिले प्राविधिक कारणले सांसद पद खारेज भए पनि उपनिर्वाचनमार्फत जितेर सांसद बन्ने आधार प्रस्तुत गर्दै लामिछानेले गृहमन्त्री आफूलाई नै नियुक्त गर्न प्रधानमन्त्री दाहालसमक्ष अनुरोध गरेका छन् । तर, दाहाल भने आफ्नै पार्टीका नेतालाई गृहमन्त्री बनाउने मनस्थितिमा छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्री आफ्नो भागमा परिसकेकाले अन्य दलले लिन नपाउने अडानमा छ ।
यदि प्रचण्डले रास्वपाको इच्छाबेगर निर्णय गरे भने सत्ता गठबन्धनमा समस्या उत्पन्न हुनसक्ने खतरा देखिन्छ । गृहमन्त्री खोसिए सरकारबाट बाहिर रहने मनस्थिति राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएको पनि स्रोतको भनाइ छ ।















प्रतिक्रिया